आर्थिक

शेयर बजारका लगानीकर्ता उत्साही (भिडियो रिपोर्टसहित)

२०८० असार १६ गते २०:५८
शेयर बजारका लगानीकर्ता उत्साही (भिडियो रिपोर्टसहित)

१६ असार २०८० काठमाडौं । शेयर बजार परिसूचक नेप्से ३२ सयबाट १८ सयको विन्दुमा झरेपछि लगानीकर्ताहरु निराश थिए । पछिल्लो समय बजारले केही आशा जगाएको छ ।

सरकारले ल्याएको बजेटमा पूँजीगत लाभकरको सम्बन्धमा आएको अस्पष्ट व्यवस्थाले केही दिन बजार घटाए पनि त्यसपछिको अधिकांश समय बजार बढेकै छ । बजार २१ सय बिन्दुमाथि उक्लिएको छ भने कारोबार रकम पनि बढेको छ । अहिले तरलताबाहेक बजार बढ्नुको कारण अरु के छ ?

२०७८ भदौमा शेयर बजार परिसूचक नेप्से हालसम्मकै सबैभन्दा उच्च ३, १९८ विन्दुमा थियो । त्यसपछि क्रमशः ओरालो लागेको नेप्से १८०७ अंकको न्यूनतम विन्दुमा झरेको थियो । तर पछिल्लो समय बजार सुधार हुँदै गएको छ । एक महिनाको अन्तरालमा २६२ अंक बढेर २१५० विन्दुमा आएको छ ।

बजार उकालो लागेसँगै दैनिक कारोबार रकम पनि ५ अर्बको हाराहामरीमा हुन थालेको छ । गत बिहीबार ५ अर्ब ९७ करोडको कारोबार भएको थियो । बैंकिङ प्रणालीमा तरलता सहज हुन थालेको, बाह्य क्षेत्रको दबाव व्यवस्थापन भएको र अर्थतन्त्र पनि सुधारको गतिमा रहेकाले अब बजारले सकारात्मक यात्रा तय गर्नेमा लगानीकर्ताहरु विश्वस्त छन् ।

नेपालमा समान्यतया उच्च तरलता, न्यून ब्याजदर र कम्पनीको पूँजी वृद्धि योजनाले नै बुल ल्याउने गरेको छ । अन्य क्षेत्र चलायमान नहुनु र पछिल्लो समय बैंकिङ प्रणालीमा उच्च तरलता र घट्दो ब्याजदर क्रममा छ । बैंकहरुसँग करिब ३ खर्ब रुपैयाँ जति लगानीयोग्य रकम थुप्रिएको छ ।

नेपाल राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीतिको तयारीमा रहेकाले त्यसले लगानीकर्ताको शेयर कर्जाको सीमा हटाउनुपर्ने लगायतका मागलाई थप सम्बोधन गर्ने र बजार अझ बढ्नेमा आशावादी छन् ।

एक वर्षको अन्तरालमा नेप्सेले ओरालो यात्रा तय गर्दा लगानीकर्ताहरुले १४ खर्ब रुपैयाँ गुमाइसकेका छन् । पौने ४५ खर्बको बजार बजार पूँजीकरण अहिले ३१ खर्ब ५० अर्ब कार्य गरेको छ ।

करिब ५० लाखभन्दा बढी नागरिकको लगानी रहेको बजारमा उकालो लागेसँगै लगानीकर्ताहरु उत्साही भएका छन् । तर बढ्दो बजारमा विशेषगरी नयाँ लगानीकर्ताहरुले विबेक गुमाउने हुँदा राम्रो ज्ञान, तथ्यांक र त्यसको विश्लेषण गरेर मात्र लगानी गर्नु उपयुक्त देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *