धनगढी उपमहानगर : जेष्ठ नागरिक भत्तासंगै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि (भिडियो रिपोर्टसहित)

२०८० जेठ ३ गते १७:५९
धनगढी उपमहानगर : जेष्ठ नागरिक भत्तासंगै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि (भिडियो रिपोर्टसहित)

३ जेठ २०८० धनगढी । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले कैलालीको धनगढी उपमहानगरपालिकामा सार्थकता पाएको छ ।

निःशुल्क रूपमा स्वास्थ्य परीक्षण र औषधी पाएपछि अहिले जेष्ठ नागरिक दङ्ग परेका छन् । सामाजिक सुरक्षा भत्तासंगै स्वास्थ्य परीक्षण गरि निशुल्क औषधी समेत पाएपछि उनीहरूको खुसी दोब्बर भएको छ ।

धनगढी उपमहानगरपालिकाले अस्पतालसम्म पुग्न नसक्ने विरामीलाई लक्षित गरी ९ महिनाअघिदेखि संचालन गरिरहेको वडा स्वास्थ्य क्लिनिकबाट अहिलेसम्म ३३ हजार पाँच सयभन्दा बढी नागरिकले सेवा लिइसकेका छन् ।

वडा स्वास्थ्य क्लिनिकबाट जनरल फिजिसियन सेवा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, आँखा, दाँत सम्बन्धी विषेशज्ञ सेवा उपलब्ध छ । यस्तै प्रयोगशाला, अल्ट्रासाउण्ड, इ सि जी लगायतका सेवापनि यही क्लिनिकबाट प्राप्त भइरहेको छ । गाउँ घरमा प्रत्येक महिना निस्शुल्क स्वास्थ्य परीक्षण हुन थालेपछि अहिले रोग लुकाएर बस्ने प्रबृत्ति पनि कम भएको छ ।

उपमहानगरको वडा नम्बर १९ बाट सुरु गरिएको वडा स्वास्थ्य क्लिनिक’ प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको छ । यो अभियानले विशेषज्ञ चिकित्सा सेवाका लागि महँगो रकम तिरेर अस्पताल जानुपर्ने बाध्यता हटेको छ । गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा पाउन थालेपछि सेवाग्राही पनि खुसी छन् ।

नौ महिनाको अवधिमा क्लीनिकबाट उपचार सम्भव नभएका चार हजार नागरिकलाई उच्चस्तरीय स्वास्थ्य सेवाका लागि अस्पताल रेफर गरिएको छ । विभिन्न संघ संस्था, व्यापारिक प्रतिष्ठानसँग साझेदारी गरेर महानगरले यो अभियान संचालन गर्दै आएको छ । यो अभियानमा जोडिएका जनरल फिजिसियन र स्त्रीरोग विशेषज्ञको पारिश्रमिक भाटभटेनी सुपरमार्केटले व्यहोर्ने गरी पाँच वर्षको सम्झौता गरिएको छ ।

कार्यक्रम प्रभावकारी बन्दै जाँदा प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । औषधि व्यवसायीबाट पनि उपमहानगरले निःशुल्क औषधि पाइरहेको छ । नगरवासीले स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस भन्ने उद्देश्यले शुरु गरेको वडा स्वास्थ्य क्लिनिक कार्यक्रम सफल रुपमा अघि बढेको उपमहानगरको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *