जब आगो निभ्यो तब दमकल आएपछि….(भिडियो रिपोर्टसहित)
![जब आगो निभ्यो तब दमकल आएपछि….(भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2023/05/kailali-fire.jpg)
२ जेठ २०८० कैलाली । सात सय ५३ स्थानीय तहमा ७१ वटा मात्रै दमकल छ । सहरी क्षेत्रमा आगलागी भएको खबर पाएलगत्तै १० देखि १५ मिनेटभित्र दमकल पुगिसक्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । तर, नेपालमा भने आगो निभिसक्दा पनि दमकल पुग्दैन ।
कैलालीमा यस्तै भयो । दमकल आगलागी भएको स्थानसम्म पुग्न मात्र १५ मिनेट लाग्थ्यो । तर, दमकल घर नै नष्ट भएपछि मात्र आगो निभाउन पुग्यो।
कैलालीको लम्की चुहा ७ चागाबाडीमा रहेको कृष्ण सुतपराई मगरको घरमा बिहान ४ बजे बिजुलीको तार सट भएर आगलागी भयो । घरमा श्रीमान श्रीमती मात्र बस्थे । ओथारो भएको घरमा आगो सल्केपछि छिमेकी आएर आगो निभाउन खोजे । तर सकेनन् ।
भारत गएर मजदुरी गरि खाने उनीहरू खेतीपाती गर्न नेपाल आएका थिए । सम्पत्तिको नाममा यही घर थियो । आगलागीले अन्नपात, भाडाकुडा, ओढ्ने–ओछ्याउने सबै जले । कुल ४ लाखको क्षति भयो । शरीरमा लगाएको एक सरो लुगा बाहेक उनीहरूसँग केही छैन । अहिले उनलाई खान र बस्न नै सकस परिरहेको छ । अहिले छिमेकीले उनका लागि आर्थिक सहयोग जुटाइरहेका छन् ।
नगरपालिकासँग दमकल नभएको होइन । तर, दमकल आइपुग्दासम्म धेरै ढिलो भइसकेको थियो । अहिले स्थानीयले नगरपालिकाले कृष्णलाई राहत दिनुपर्ने माग गरिरहेका छन् ।
नगरपालिकाको दमकल भएको स्थानबाट आगलागी भएको स्थानसम्म पुग्न मात्र १५ मिनेट लाग्छ । तर, दमकल तयारी अवस्थामा नराख्दा एउटा परिवारको सर्वस्व गुम्यो । कृष्ण त आफूले भोगेको पीडाबाट बौरिन खोज्दैछन् । तर, स्थानीय भने भविष्यमा यस्तै घटना भए के गर्ने भनेर नगरपालिकालाई प्रश्न गरिरहेका छन् ।
प्रतिक्रिया