एक हप्तामा तीन दुर्घटना, चारजनाले ज्यान गुमाए

२०८० जेठ २ गते १४:३८
एक हप्तामा तीन दुर्घटना, चारजनाले ज्यान गुमाए

२ जेठ २०८० रोल्पा । रोल्पामा एक हप्तामा तीनवटा दुर्घटनामा परी चारजनाले ज्यान गुमाएका छन् ।

जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीनजना तथा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको हो ।

गत वैशाख २८ गते लुङ्ग्री गाउँपालिका–५ मछेनीमा सडक कालोपत्र गर्ने कामदार बोकेको रा१त ३८८१ नंको ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको ज्यान गएको हो । मृत्यु हुनेमा सोही ठाउँका १३ वर्षीय खेमराज रोका र १२ वर्षीय टेकेन्द्र बस्नेत रहेका छन् । उक्त दुर्घटनामा परी चारजना घाइते भएका थिए ।

यसैगरी गत वैशाख ३० गते रोल्पा नगरपालिका–२ कालापैह्रामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा रोल्पा–६ कोटगाउँका २२ वर्षीय उमेश वाँठामगरको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा पछाडि सवार अर्को एकजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गत वैशाख ३० गते सुनछहरी गाउँपालिका–४ सुनछहरी झरनामा रहेको पोखरीमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–१८ की २४ वर्षीया चन्द्रा सुनारको मृत्यु भएको थियो । श्रीमान्सँग सुनछहरी झरना हेर्न गएकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोल्पामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म भवितव्य ज्यान, सवारी ज्यान जस्ता दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाइसकेका छन् । भवितव्य घटनामा २५ र सवारी दुर्घटनामा आठजनाले ज्यान गुमाएका छन् ।

अठार जना भिरबाट लडेर मरेका हुन् । तीव्र गति, समयमा सडक मर्मत र सम्भार नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिनुभयो । मापसे गरी भिरको बाटो हिँड्दा पनि बढीजसोको लडेर ज्यान जाने गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *