किन अन्त्य हुन सकेन छाउपडी प्रथा (भिडियो रिपोर्टसहित)
१ जेठ २०८० सुर्खेत । आज २८ मे । अर्थात् महिनावारी स्वच्छता दिवस । महिनावारी हुँदा पर होइन घर भन्ने नाराका साथ मनाइयो । तर, यो वर्ष पनि दिवस नारामै सीमित हुँदैछ । किनकी कर्णालीमा अहिले पनि महिनावारी हुँदा घर होइन पर नै सर्ने कुप्रथा विद्यमान छ ।
कर्णाली सरकारले छाउप्रथा अन्त्य गर्न अभियान नै चलाएपनि प्रथा अन्त्य भएन । दुर्गममा मात्र नभई सुगममा समेत यो जकडिएर बसेको छ । जसको प्रतिरोध गर्न महिला नै तयार छैनन् ।
विसं २०७६ मा गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न जिल्लामा छाउगोठ भत्काउने अभियान थालियो । यसअन्तर्गत कर्णालीमा एक हजार पाँच सय बढी छाउगोठ भत्काइएको प्रहरीको तथ्याङ्क छ । तर, कतिपय स्थानमा छाउगोठ हटाउन नदिएर पटकपटक अभियानकर्ता लखेटिए ।
शिक्षित जमात नहुँदा त्यहाँ यो समस्या हुनु नौलो होइन । तर, सहरी क्षेत्रमा पनि यसले डेरा जमाएर बसेको छ । यिनी मनकुमारी विश्वकर्मा । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा बस्छिन् । उनी यो प्रथा बार्छिन् । र, उनको बसोबास रहेको वडा नम्बर १ मा प्राय सबै यो प्रथा मान्ने गर्दछन् ।
कार्यक्रम हुन्जेल अभियान चले पनि कार्यक्रम सकिएपछि यो प्रथा अझै ज्यूँकात्यूँ छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका साथै कर्णालीका अन्य स्थानीय तहमा पनि छाउप्रथा अहिले पनि कायम छ । स्थानीय तहले पनि छाउपडी प्रथा उन्मूलन गर्ने भनिए पनि ठोस कार्यक्रम ल्याउन सकिरहेका छैनन् । छाउगोठ भत्काउनेभन्दा पनि जनचेतनाका कार्यक्रममा जोड दिनुपर्ने सुझाव सरोकारवालाको छ ।
केही दशकअघिसम्म महिनावारी भएकाले प्रयोग गर्ने पानीका धारासमेत फरक थिए । अहिले पनि महिनावारी भएकाले पानी भर्न सितिमिती पाउँदैनन् । महिनावारी भएकाबेला धारो छोए पनि पखाल्नुपर्ने नियम अधिकांश गाउँमा छ । कर्णाली प्रदेशमा छाउप्रथा उन्मूलनका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट करोडौँको बजेट खर्च भएको छ । स्थानीय गैरसरकारी सङ्घसंस्थाले पनि यो प्रथा न्यूनीकरणका लागि थुप्रै कार्यक्रम गर्दै आएका छन् तर परिणाम भने गतिलो देखिँदैन ।
मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ । वर्षौंदेखि रोग, भोक, अशिक्षा, गरिबी र भौगोलिक विकटताले यहाँको विकास हुनै सकेन । प्रदेशमा रहँदै आएका छाउलगायतका विभिन्न कुप्रथाले महिला हिंसा, बलात्कार र अकालमै ज्यान गुमाउने अवस्थाले विकाससँगै जनजीविकामा नकारात्मक असर पु–याएको छ ।
प्रतिक्रिया