विपन्न समुदायलाई रेडियो वितरण

२०८० वैशाख ३१ गते ८:०२
विपन्न समुदायलाई रेडियो वितरण

३१ वैशाख २०८० मुग्लिन । सूचनाको पहुँचमा सबै नागरिकलाई पु-याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडियो वितरण गरेको छ ।

पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ । रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गर्नुभयो । आर्थिक अवस्था कमजोर रहेका चेपाङले रेडियोबाट गीत–सङ्गीत, समाचार सुन्न पाउने भइयो भन्दै उहाँले गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यावाद दिनुभयो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले यस आर्थिक वर्षमा मात्र एक सय रेडियो वितरण गर्दैछ । सातवटै वडाका अतिविपन्न र सूचनाको पहुँचमा नभएका गाउँपालिकाका नागरिकलाई रेडियो वितरण गरिने उहाँको भनाइ छ ।

अध्यक्ष गुरुङले भन्नुभयो, “सूचना पाउनु नागरिकको अधिकार हो, कोही पनि नागरिक सूचनाको पहुँचबाट टाढा बस्नु हँुदैन, यहाँका कतिपय नागरिक मोबाइल, इन्टरनेट, टेलिभिजन र रेडियोको पहुँचमा छैनन्, ती नागरिकलाई सूचनाको पहुँचमा ल्याउने हाम्रो लक्ष्य हो ।” यहाँका ग्रामीण भेगमा सूचनाका लागि उपयुक्त माध्यम रेडियो भएको उहाँको भनाइ छ ।

देश–विदेशका घटनाक्रम तथा गाउँपालिकाको गतिविधि एवं सूचना जानकारी दिन तथा रेडियो सुन्ने बानीको विकास हुने अध्यक्ष गुरुङको विश्वास छ । रेडियो सुन्ने बानीको विकाससँगै रेडियोबाट प्रसारण हुने जनचेतनामूलक सूचना कार्यक्रमले नागरिकमा चेतनाको विकास हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *