महाकाली नदीमा बालुवा छान्नेको ताँती (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ३० गते २०:५८
महाकाली नदीमा बालुवा छान्नेको ताँती (भिडियो रिपोर्टसहित)

३० वैशाख २०८० कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा यसरी गिट्टी, बालुवा छान्नेको आजभोली ताँति छ । नदी तटीय क्षेत्रका विपन्न परिवारको आम्दानीको स्रोत हो, गिट्टी बालुवा ।

तराईको प्रचण्ड गर्मीमा १५ सय रुपैयाँ कमाउन गरेको मिहिनेत असाधारण छ । त्यसमाथि युवादेखि ६० वर्षका वृद्धवृद्धा पनि यही काम गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

उहाँ कमला पाल, अहिले उमेरले ६० बर्ष पुग्नुभयो । भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बस्नु हुन्छ । महाकालीको किनार, अनि यो टनटलापुर घाममा यी बुढीआमा हातमुख जोर्न २० बर्ष देखि यसरी नै बालुवा छान्दै आउनुभएको छ ।

उहाँ प्रत्येक दिन बालुवा छान्न करिब डेढ घण्टा हिँडेर यहाँ आउनुहुन्छ भने बेलुका अबेर परेपछि मात्रै घर फर्कनुहुन्छ । यसरी दिनभरी घामपानी नभनी गरेको कामबाट एक ट्राली भर्न १० दिन लाग्छ । बालुवा छानेर १५ सय रुपैयाँ र एक ट्राली गिट्टी छानेर २ हजार रुपैयाँ पाउनुहुन्छ । उहाँकै काँधमा ७ परिवारको जिम्मेवारी छ ।

कमला जस्तै ब्रह्मदेवकी कलावती पाल, उमेरले ४० पुग्यो । महाकालीमा बालुवा छान्ने काम गर्न थालेको पाँच वर्ष भइसक्यो । दिनभरी महाकालीमा बालुवा छानेमात्रै बेलुका उहाँको चुलोमा आगो बल्छ । उहाँले पनि एक ट्राली गिट्टी छान्दा २८ सय रुपैयाँ पाउनुहुन्छ ।

महाकालीमा बालुवा छान्ने काममा ब्रह्मदेवकी पार्वती भुलको जीवनको बालापन पनि यहीँ गिट्टी, वालुवा छानेर गयो । उमेरले ३५ पुगेकी पार्वतीलाई यहाँ गिट्टी, बालुवा छानेको अहिले भण्डै २०देखि ३० बर्ष भयो ।

घरबाट बिहान खाना खाएर निस्किएर बेलुका अबेरसम्म महाकालीमा गिट्टी, बालुवा छान्ने उहाँको दैनिकी नै हो । सात÷आठ महिना बालुवा छानेर कमाएको पैसाले घरखर्च जोहो गर्न धौ–धौ हुने गरेको छ । कार्तिक सुरुवातदेखि जेष्ठ अन्तिमसम्म नदी तटीय क्षेत्रका विपन्न परिवार बालुवा छान्ने काम गर्ने गरेका छन् ।

कञ्चनपुरका नदी तटीय क्षेत्रका विपन्न समुदायका स्थानीय बालुवा, गिट्टी बिक्री गरेर जीविकोपार्जन गर्ने गरेका छन् । गिट्टी बालुवा बेचेर मासिक रु १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । अहिलेको अवस्थामा यो रकम एकदमै कम हो । तर, स्थानीय तहले यसबारे पहल नगरेको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *