खानेपानीको हाहाकार : बर्खाको पानी जम्मा गरेर ६ महिना गुजारा टार्न बाध्य (भिडियो रिपोर्टसहित)

२० साउन २०७९ धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर पाँच डाँडाबजार र मोरङको केराबारी गाउँपालिका पाटीगाउँमा बर्खाको समय बाहेक अन्य समयमा खानेपानीको हाहाकार हुन्छ । हिउँदका लागि बर्खामै बलेसीको पानी जम्मा गरेर राख्नुपर्छ । ड्रम, घैंटो र बोतलमा राखेको पानीकै भरमा यहाँका बासिन्दा ६ महिना गुजार्न बाध्य छन् ।
मोरङ थामडाँडाका मोहन राई बोत्तलमा पानी भर्दै हुनुहुन्छ । राईले घर वरपर २ हजारभन्दा बढी बोत्तलमा पानी भरेर राख्नु भएको छ । चार वटा ठूला ट्याङ्की र केही थान ड्रममा पनि पानी भरिएको छ । यो सबै वर्षातमा परेको पानी संकलन गरिएको हो । हिउँदमा खानेपानीको समस्या हुने भएकाले यसरी वर्षातको पानी संकलन गरिएको हो ।
राई जस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर पाँच डाँडाबजार र मोरङको केराबारी गाउँपालिका पाटीगाउँका २५० घरले यसैगरी बोतल तथा ड्रममा पानी संकलन गरेर राख्छन् । वर्षको ६ महिना पानी नआउने र पानी लिन ३ घण्टाको बाटो हिँडेर जानुपर्ने भएकाले अहिले नै पानी संकलन गरेर राखिएको हो । हिउँदमा नुहाउन, कपडा धुन, गाई भैंसीलाई खुवाउन र तरकारी बालीमा हाल्न यही पानी प्रयोग हुन्छ ।
खानेपानी ल्याउन पटकपटक पहल भए पनि आजसम्म समस्या समाधान भएको छैन । विदेशी दाताको सहयोगमा ध्वजे डाँडामा कुहिरोबाट पानी संकलन गर्ने परियोजना पनि शुरु भयो तर सफल हुन सकेन । प्रदेश सरकारको करिब दुई करोड रुपैँयाको लागतमा वाटर लिफ्ट गरी पानी ल्याउन स्थानीय सरकारले तयारी गरिरहेको छ ।
स्थानीयले पानीको समस्या भोगेको लामो समय भयो तर बल्ल समाधानको तयारी हुँदैछ । सरकारले तयारीमै लामो समय खर्चने हो कि भन्ने स्थानीयलाई शंका छ ।
प्रतिक्रिया