समाज

बत्तीमुनिको अँध्यारोमा सुनसरीको मुस्लिम बस्ती (भिडियो रिपोर्टसहित)

२०७९ साउन १६ गते १४:२९
बत्तीमुनिको अँध्यारोमा सुनसरीको मुस्लिम बस्ती (भिडियो रिपोर्टसहित)

१६ साउन २०७९ सुनसरी । धरान र इटहरी उपमहानगरपालिका भएको सुनसरीलाई सुगम जिल्ला मानिन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच भएको सुनसरीमा बसोबास गर्नेहरु सम्पन्न मानिन्छन् । तर, वास्तविकता त्यस्तो छैन । सुनसरीमा मुश्लिम समुदायलाई खान लगाउन र छोराछोरी पढाउनै मुस्किल छ ।

सवनन् खातुन् सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ मा रहेको मुस्लिम बस्तीमा बस्नुहुन्छ । १७ महिनाअघि जण्डिसको उपचार गराउन नसक्दा उहाँको श्रीमानको मृत्यु भयो । श्रीमानको मृत्यु भएपछि उहाँ अहिले सहाराविहीन हुनुभएको छ । उहाँका १०, ८, ५ र ४ वर्षीया छोरीलाई नजिकैको मदरसामा पढाउनु भएको छ । अहिले त मदरसामा शुल्क लाग्दैन । तर, मदरसाको पढाइ सकिएपछि चार छोरीलाई कहाँ र कसरी पढाउने भन्ने खातुनलाई चिन्ता छ ।

कानूनले बर्जित गरेको भए पनि मुस्लिम समुदायमा दाइजो दिने प्रथा अहिले पनि कायमै छ । हुर्कँदै गरेका छोरीको विवाह कसरी गरिदिने भन्ने चिन्ताले समेत बेलाबेला खातुनलाई पिरोल्छ ।

रामधुनीकै महमद मजलुमका ६ छोरी र ३ छोरा छन् । त्यसमध्ये ५ छोरी र ३ छोराको विवाह भइसक्यो । छोराहरु छुट्टिएर रोजगारीका लागि अन्यत्र गएका छन् । बुहारीहरु माइतीमै बस्छन् । छोराहरुले कमाएर घर पठाउदैनन् । उहाँले आफ्ना छोराछोरीलाई २,३ कक्षाभन्दा बढी पढाउन सक्नुभएन । कान्छी छोरीलाई एसईईसम्म पढाउने इच्छा थियो । तर, गरिबीका कारण कापी, कलमसमेत किन्न नसकेका कारण १५ वर्षीय छोरीले बीचमै पढाई छाड्नुपर्‍यो । ६५ वर्षीय मजलुमलाई घर धान्न मुस्किल छ । आफ्नो जग्गाजमिन नभएका मजलुम अधियाँ गरेर जसोतसो जीवन चलाउँदै आउनुभएको छ ।

यी त यो बस्तीका प्रतिनिधि पात्र मात्र हुन् । करिब १५० घर मुस्लिम समुदायको बसोबास रहेको यहाँका करिब ९० प्रतिशत परिवारसँग आफ्नो जमिन छैन । उनीहरु नहरको जमिनमा सामान्य टहरा बनाएर बसिरहेका छन् ।

वर्षाको समयमा सिंगो गाउँ डुबानमा पर्छ । पानी चुहिने छानो छ । बस्तीमा खानेपानीको सुविधा छैन । व्यवस्थित शौचालय पनि छैन । करिब १०० बर्ष अघिदेखि त्यहाँ उनीहरु बसोबास गर्दै आएका छन् । समय बित्दै गयो, तर पनि उनीहरुको जीवनस्तर कहिल्यै माथि उक्सिएन । हिउँदभर ज्याल मजदुरी गरेर खाने यहाँका बासिन्दालाई वर्षाको समयमा गुजारा चलाउन निकै कठिन छ ।

पुरानो पुस्ता त अक्षर नै चिन्दैनन । नयाँ पुस्तामा पनि सिंगो मुस्लिम बस्तीमा कसैले उच्च शिक्षा अध्ययन गरेका छैनन् । रामधुनी नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिए पनि यहाँका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । यहाँका नागरिकका आवाज सरकारसम्म पुग्दैन । न उनीहरु भन्न सक्छन् न गुनासा सुनिदिने कोही आउँछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *