समाज

खुट्टाले भविष्य कोर्दै छत्रकोटका १८ वर्षीय ऋषिराम कँडेल (भिडियो रिपोर्टसहित)

२०७९ असार ३२ गते १६:५५
खुट्टाले भविष्य कोर्दै छत्रकोटका १८ वर्षीय ऋषिराम कँडेल (भिडियो रिपोर्टसहित)

३२ असार २०७९ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ का १८ वर्षीय ऋषिराम कँडेल खुट्टाले आफ्नो भविष्य कोरिरहेका छन् । अरुको साहराबिना केही गर्न सक्नुहुन्न । तर, उहाँको बौद्धिक क्षमता भने तिक्ष्ण छ ।

ऋषिराम कँडेलको जन्मदेखि नै दुबै हात चलेन । खुट्टाको पनि दुईवटा बाहेक अरु औंला चल्दैन । तर, त्यही दुईवटा औंलाकै साहराले कलम समाउनुहुन्छ, मोबाइल र ल्यापटप चलाउनुहुन्छ ।

‘क’ वर्गका फरक शारीरिक क्षमता भएका ऋषिराम अरूको सहाराबिना हिँडडुल गर्न सक्नुहुन्न । बुबा लक्ष्मण कँडेलले ऋषिरामलाई विद्यालय ल्याउने पुर्‍याउने गर्नुहुन्छ । त्यसपछि साथीहरुले बोकेर कक्षा कोठामा पुर्‍याउँछन् ।

विद्यालय पनि अपाङ्ग मैत्री छ । कक्षा कोठा र शौचालयको सहज व्यवस्था गरिएको छ । सबैको माया, सद्भाव र सहयोगका कारण हरेक
कक्षामा प्रथम हुँदै ९ कक्ष पुगेका ऋषिरामले कहिल्यै एक्लो र कमजोर महशुस गर्नु परेन ।

खुट्टाले कहिलेबाट कलम समाउन थालेको ऋषिरामलाई ठ्याक्कै सम्झना छैन । आफूले थाहा पाउँदा हात उठ्दैनथे । खुट्टाका औँलाले केही समाउन खोजेपछि परिवारले कलम थमाइदिए । बिस्तारै ऋषिरामले सबै काम खुट्टाले गर्न थाल्नुभयो । फरक क्षमता भएका सबैलाई हिम्मत नहार्न ऋषिरामको सुझाव छ ।

ऋषिरामका बुवाआमाले पाँच वर्षसम्म उपचारका लागि दौडधुप गर्नुभयो । तर, अवस्थामा सुधार आएन । त्यसपछि निरन्तर स्याहार–सुसार र अध्ययनमै परिवारको ध्यान गयो । एक्लो छोरालाई असल मानिस बनाउने बुवाआमाको सपना छ ।

श्रृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम पढाइ, लेखाइ, चित्रकला, गीत, सबैमा राम्रो दख्खल राख्नु हुन्छ । कँडेल परिवार र ऋषिराम उदाहरणीय पात्र भएको विद्यालयका प्रधानाध्यापक विकाशचन्द्र खरेलको प्रतिक्रिया छ ।

ऋषिरामलाई स्थानीय सरकारले पनि सहयोग गरिरहेको छ । फरक क्षमताका व्यक्तिलाई हेलाहोचो हैन सहयोग र हौसला दिनुपर्छ भन्ने ऋषिरामको परिवारबाट सबैले सिक्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *