नेतामा देखिएको उदेकलाग्दो पिर्के सलामी र माला मोह (भिडियो रिपोर्टसहित)
१० असोज २०७८ काठमाडौं । गणतन्त्र स्थापनापछि नेताहरुमा देखिएका उदेकलाग्दा शोखले जनता आजित भएका छन् । जनताको करको चरम दुरुपयोग र आफूलाई माथिल्लोस्तरको सावित गर्न देखाइएका ढोङले व्यवस्थाप्रतिसमेत वितृष्णा देखिन थालेको छ ।
जनताले नेताको लहैलहैमा लागेर लडेर गणतन्त्र ल्याए, राजा गए जनताको शासन आयो । तर जनताको भनिएको शासनमा नेता नै राजा बन्ने चाहनाले जनतालाई गणतन्त्र एक राजाको ठाउँमा अनेक राजाको शासन रहेछ भन्ने भान पर्न थालेको छ।
श्रीपेच लगाएका राजा गए पनि राजतन्त्रको नली हाड फुक्ने नेताले गरेका विभिन्न अभ्यासले गणतन्त्रको खिल्लीमात्र उडाएको छैन, परिवर्तनका लागि लडेकालाई विस्मात पनि हुन थालेको छ।
नेपालको सबभन्दा गरिबीको चित्र कोरिएको कर्णाली प्रदेशका हिजोका सर्वहाराका लागि राजनीति गर्ने मुख्यमन्त्रीलाई समेत राजा हुने भूत चढेकाले होला ४० किलोको माला लगाएर रमिता गरेका छन् । गाउँपालिकाको बजेटमा हेलिकप्टर चढेर आफ्नै प्रदेशअन्तर्गतको जिल्लामा पुग्दा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई ४० किलोको मालाले कति जिस्कायो होला ?
झण्डै चार वर्षको कार्यकालको अधिकांश समय सत्ता टिकाउन धार्नी बिसौली गरेर बस्नुभएका मुख्यमन्त्री शाहीले फूलैको माला लगाउन पर्ने गरी सिन्को भाँच्नुभएको छैन । उहाँको व्यक्तिगत जीवनमा केही उन्नति भयो होला, आसेपासेले जागिर पाए होलान् अनि ठेक्का र जागिरको आश हुनेले माला लगाइदिए पनि होलान् । कम्तीमा पनि सभ्य मान्छेमा त लोकलाज हुन्छ नि, हिजो संसारमा मान्छेको एउटा मात्र जाति हुन्छ भनेर लडेकाले त आफ्नै आङ अर्धानो राखेर नेताले ४० किलोको माला लगाएको हेर्न ल्याइएका मान्छेको दुख हेरेर पनि पछुताउनुपर्ने नि ?
डोल्पाको एउटा विद्यालय भवन उद्घाटनका लागि एक मन्त्रीसहित हेलिकोप्टरमा पुग्नुभएका मुख्यमन्त्रीको हेलिकप्टरको बिल भने गाउँपालिकाले तिर्नेछ। हिजो राष्ट्रपतिलाई हेलिकप्टर किन्दा व्यङ्ग्य गर्ने, आज आफैं हेलिकप्टर चढ्न प्रतिष्पर्धा गर्ने मुख्यमन्त्री, मन्त्री र सभामुखहरुको शैली वनको राजा बाँदरलाई सुम्पेको जस्तो भएन र ?
भवन उद्घाटन गर्न हेलिकोप्टरमा पुगेका मुख्यमन्त्री शाही, उद्योग, पर्यटन, वन तथा वावावरण मन्त्री नन्द सिंह बुढा र जगदुल्ला गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायालाई ४०–४० किलोको माला लगाइएको हो ।
अझ लाजमर्दो कुरा त मन्त्रीको लाममा अध्यक्ष आफैले समेत ४० किलोको माला लगाउनुभयो। केही दिनयता मात्रै डोल्पाका खाद्य डिपोहरु रित्तिएर भोका नाङ्गा नागरिक रित्तो हात फर्केको समाचार सम्भवतः मालाका भोकाले त पढ्नुभएन होला । उहाँहरुको आँखा पनि त्यो अभावमा रसाउँदैन होला । सत्ता र शक्तिले मैमत्तहरुमा कम्तिमा पनि करुणा र दया हुँदैन पनि ।
तर पनि पछिल्लो दिनमा प्रदेश सरकार र स्थानीय पालिकाका केही मुखिया र राजाहरुको व्याबहारले व्यबस्थाप्रति नै वितृष्णा उत्पन्न हुन थालेको छ। पिर्के सलामीदेखि रातो कार्पेटमा हिड्ने मोहले ‘धनी भयो भन्दैमा सिरक नओछ्याउनु , गरिब भयो भन्दैमा डसना नओड्नू’ भन्ने उखान सम्झाउँदैन र ? हुँदाहुँदा दलतन्त्रले गाँजेको र चाकडीले प्रश्रय पाएको समाजमा जेलबाट सजाय काटेर निस्केको नेतालाई समेत र्याली र पन्चेवाजा पो बजाउन थालिएको छ।
अदालतमा मुद्दाका कारण राजनीतिक पदमा उठ्नलाई सकस भएको नेताले खेताला बटुलेर जिन्दावाद गर्न लगाउने चलन पनि यहीँ छ। आफ्नै गैरसंवैधानिक हर्कतले पद गुमाउन बाध्य हुने शासकले निजी निवास जाँदा पन्चे बाजाका साथ म्यादी कार्यकर्ता लगाएर भजन कीर्तन गराउने चलनले नेताको ओज बढ्दैन बरु घट्ने छ। यसतर्फ राजनीतिमा नैतिकताको खडेरी सुकाउन र आगामी पुस्तालाई सिकाउन ढिला भएन र ?
प्रतिक्रिया