यो पनि पढनुहोस्

नेताहरुमाथि किन प्रहार हुन्छ मुक्का र जुत्ता ? के भन्छन् नेता र विश्लेषक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ५ गते २०:५९
नेताहरुमाथि किन प्रहार हुन्छ मुक्का र जुत्ता ? के भन्छन् नेता र विश्लेषक ? (भिडियो रिपोर्टसहित)

५ असोज २०७८ काठमाडौं । नेकपा एमाले रुपन्देहीका अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हाने । कोही कसैमाथि हातपातमा उत्रिनु गलत भए पनि कतिपयले यसलाई नेताहरुविरुद्ध नागरिकको आक्रोशको नतिजा भनेका छन् ।

यसरी सार्वजनिकस्थलमै थप्पड खाने सुवेदी एक्लो नेता भने होइनन् । यसअघि पनि धेरै पटक नेताहरुविरुद्ध आफ्नै कार्यकर्ताबाट मुक्का र जुत्ताप्रहार भएका छन् ।

घटना–१
पहिरो निरीक्षणमा गएका नेकपा एमाले रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हाने । बुटवल ३ स्थित ज्योतिनगरमा पहिरो निरीक्षणमा गएका मेयर सुवेदीलाई अनेरास्ववियका जिल्ला सदस्य गणेश पंगेनीले मुक्का हानेका हुन् । सुवेदीलाई मुक्का हान्ने पंगेनी स्वयम पहिरो प्रभावित रहेको स्थानीय बासिन्दाको भनाइ । मुक्का हान्ने पंगेनीलाई प्रहरीले पक्राउ गरे पनि मुद्दा नचलाउन एमालेले आग्रह गरेको छ ।

घटना–२
अब ९ वर्षअघिको पूरानो घटनामा जाऔँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई २०६९ साल मंसिर १ गते काठमाडौंको भृकुटी मण्डपमा आफ्नै कार्यकर्ताले मुक्का हाने । प्रचण्डलाई मुक्का हान्ने व्यक्ति थिए उहाँकै कार्यकर्ता तथा पूर्वलडाकु बाग्लुङका पदम कुँवर । आफूलाई मुक्काप्रहार गर्ने कुँवरलाई प्रचण्डले माफी दिएर हिरासतमुक्त गराउनुभयो ।

घटना–३
पदम कुँवरको झापड भेटेको ८ वर्षपछि २०७६ साल फागुन १८ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रचण्डमाथि पुन आफ्नै कार्यकर्ताले जुत्ता हाने । जुम्ला सिंगा गाउँपालिकाका रतन तिरुवाले दर्शकदीर्घाबाटै जुत्ता हानेका थिए । प्रचण्डले गर्ने वर्गसंघर्षको कुरामा सत्यता नभेटेकाले आफूले आक्रोशमा प्रचण्डमाथि जुत्ता प्रहार गरेको तिरुवाले बयान दिएका थिए ।

घटना–४
२०६७ साल माघ ८ गते तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालमाथि सुनसरीमा आफ्नै कार्यकर्ता देवीप्रसाद रेग्मीले चड्कन हानेका थिए । २०४६ सालदेखि खनालकै पार्टीमा रहेका रेग्मीले देशलाई अनिर्णयको बन्दी बनाएको आक्रोशमा खनाललाई आक्रमण गरेको बताएका थिए । त्यतिबेला खनालले माफी दिएपछि रेग्मी रिहा भए ।

घटना–५
२०६८ सालमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि पनि काठमाडौंको कपनमा आफ्नै कार्यकर्ताले काठको फ्रेमले आक्रमण गरे । कोइरालालाई आक्रमण गर्ने अरु कोही नभएर उहाँकै कार्यकर्ता तथा नेपाल विद्यार्थी संघका पूर्वक्षेत्रीय सभापति प्रवेश बस्नेत थिए । आन्तरिक विवाद समाधान नगरेको आक्रोशमा आफूले कोइरालाई आक्रमण गरेको बस्नेतको दाबी थियो ।

घटना–६
२० ७३ साल मंसिर २२ गते तत्कालीन नयाँ शक्ति नेपालका संयोजक रहेका डा. बाबुराम भट्टराईमाथि पोखराको पीएन क्याम्पसमा आक्रमण भयो । अहिलेका जनता समाजवादीका नेतासमेत रहेका भट्टराईलाई सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेका थिए ।

घटना–७
२०६८ साल वैशाख १९ गते काठमाडौंको तीनकुनेमा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा सभासद झक्कुप्रसाद सुवेदीमाथि पनि आक्रमण भयो । संविधान बनाउन ढिलो गरेको भन्दै प्रेमराज देवकोटाले चिया पसलमै सुवेदीलाई चडकन हानेका थिए ।

घटना–८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि २०५० साल साउन ६ गते एमाले नेता गोल्छे सार्कीले हातपात गरेका थिए ।

घटना–९
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कामाथि पनि आक्रमण भएको छ । खड्कालाई नेकपा एमालेकी सभासद कमला शर्माले २०६५ साल जेठ १५ गते तत्कालीन संविधान सभा बैठक कक्षमा आक्रमण गर्नु भएको थियो ।

नेताहरु नागरिकले र विरोधी दलको निशानामा परेका यी केही प्रतिनिधि घटना मात्रै हुन् । सबै जसो घटनामा नजिकका कार्यकर्ताले नेतामाथि आक्रमण गरेका छन् । पछिल्लो पटक आक्रमणमा परेका बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले आफ्ना सन्तानले अभिभावकको बिछ्यौना फोहोर गरेको रुपमा लिनुभएको छ ।

नेपालको राजनीतिमा स्थापित नेतामाथि नै बेलाबेलामा सार्वजनिक कार्यक्रममै आक्रमण हुने गरेको छ । गिरिजाप्रसाद कोइराला र बीपी कोइरालासम्मले सार्वजनिकस्थलमै आक्रमणको सामना गर्नु परेको थियो । त्यो पनि आफ्नै नजिकका कार्यकर्ताहरुबाट । यसलाई नेताहरुले नागरिक र कार्यकर्तालाई दिएको आश्वासन पूरा नहुँदाको परिणाम भन्छन् विश्लेषक ।

सार्वजनिक कार्यक्रममा कालोझण्डा र विरोधको सामनाबाट जोगिएका त कुनै नेता नै छैनन् । आफ्नो राजनीतिक जीवनकालमा कालोझण्डा र विरोधको सामना नगर्ने नेता सायदै होलान् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *