फाइजरले उत्पादन गरेको कोरोनाविरुद्धको खोप भारतीय बालबालिकालाई पनि लगाउने तयारी

१४ जेठ २०७८ नयाँ दिल्ली । फाइजरले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप भारतीय बालबालिकालाई पनि लगाउने तयारी गरिएको छ ।
खोप उत्पादक अमेरिकी औषधि कम्पनीले भारतलाई फाइजर खोप उपलब्ध गराउने बताए लगत्तै बालबालिकामा पनि लगाउने तयारी भएको हो ।
अमेरिकी अधिकारीले सो खोप १२ वर्ष वा सोभन्दा माथिका सबैले लगाउन सक्ने र दुईदेखि ८ डिग्री सेल्सीयसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन्।
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई छिट्टै फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन्।
कोरोनाभाइरसको तेस्रो चरणको महामारी सुरु हुनु अगाडि नै बालबालिकाहरुलाई खोप लगाइ सक्ने व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन केजरीवालले केन्द्रीय सरकारलाई पनि आग्रह गरेका छन्।
आगामी महिनादेखि नै बालबालिकामा कोरोनाभाइरसको बढी असर देखिन सक्ने उनले बताएका छन्। महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत धेरै ढिला भइसकेको उल्लेख गर्दै केजरीवालले ती विद्यार्थी र शिक्षकहरुलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न केन्द्रीय सरकारलाई सुझाव दिएका छन्।
फाइजरले आगामी जुलाइदेखि डिसेम्बर सम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ।
प्रतिक्रिया