अर्मेनिया र अजरबैजानबीच युद्धविरामसम्बन्धी नयाँ सम्झौता

२ कात्तिक, २०७७ अर्मेनिया । अर्मेनिया र अजरबैजानबीच युद्धविरामसम्बन्धी नयाँ सम्झौता भएको छ ।
अर्मेनिया र अजरबैजानबीच विवादास्पद सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयास स्वरुप पुनः सम्झौता भएको हो।
यसअघि भएको अस्थायी शान्ति सम्झौता दुबैतर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुबै देशले नयाँ सहमति गरेका हुन् ।
सहमति स्थानीय समय अनुसार आज मध्यरातदेखि लागू हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अघिल्लो साता दुबैबीच युद्धविरामको सहमति बनेपनि अघिल्लो दिन नै भंग भएको थियो ।
अबको सम्झौता यसअघि उल्लंघन भएको सम्झौतामा उल्लेखित सहमती अनुसार नै भएको बताइएको छ । गएको सेप्टेम्बर अन्त्यमा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरानोमध्ये एक अर्मेनिया र अजरबैजानबीचको युद्ध पुनः ब्यूँतिएको थियो।
पूर्व सोभियत युनियनका दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ। अन्तर्राष्ट्रिय रुपमा सो क्षेत्र अजरबैजानको मान्यता प्राप्त भएपनि त्यहाँ आदिवासी अर्मेनियनको कब्जा छ।
सन् १९ सय ९० को दशकको शुरुमा भएको सीमा भिडन्तमा दशौं हजार मानिसको मृत्यु भैसकेको छ । यद्यपि युद्धविरामको घोषणाकाबीच अहिले पनि सो क्षेत्रमा दुबै पक्षबीच भिडन्त जारी नै रहेको जनाइएको छ ।
प्रतिक्रिया