लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा कम्तिमा ७० जनाको मृत्यु

२१ साउन, २०७७, लेबनान । लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा कम्तिमा ७० जनाको मृत्यु भएको छ ।
विष्फोटमा ७० भन्दा बढीले ज्यान गुमाएको तथा चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। बन्दरगाह क्षेत्रको एक गोदाममा राखिएको विष्फोटक पदार्थ विष्फोट भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
गोदाममा सन् २ हजार १४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको बताइएको छ । विष्फोट लगत्तै आकाशमा बादल लागेजस्तो आगो र धुवाँको मुस्लो देखिएको थियो ।
विष्फोटक लगत्तै वरपरका कैयन् भवनहरू ध्वस्त भएका थिए। विस्फोटको आवाज करिब २ सय ४० किलोमिटर टाढा रहेको साइप्रससम्म सुनिएको थियो ।
राष्ट्रपति मिसेल आउनले २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिएको बताएका छन् । अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो ।
प्रधानमन्त्री हसन डीयाबले उक्त घटनालाई भयावह बताउँदै दोषीलाई कारवाही गरिने बताएका छन् । घटनापछि लेबनानमा राष्ट्रिय शोक घोषणा गरिएको छ ।
सन् २ हजार ५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अघि उक्त विष्फोट भएको हो। राष्ट्र संघीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइ पश्चात् फैसला सुनाउन लागेको थियो।
विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जनाइएको छ।
प्रतिक्रिया