बिशेष

घर भत्काएको सात महिना बित्दासम्म काठमाडौंका सुकुम्वासीको बास अनिश्चित, होल्डिङ सेन्टर छोड्न अल्टिमेटम

२०८३ मंसिर ११ गते २०:२३
घर भत्काएको सात महिना बित्दासम्म काठमाडौंका सुकुम्वासीको बास अनिश्चित, होल्डिङ सेन्टर छोड्न अल्टिमेटम

काठमाडौं :  काठमाडौं उपत्यकाका नदीकिनारबाट डोजर लगाएर विस्थापित गरिएका सुकुम्वासीलाई सरकारले तत्काल पुनःस्थापना गर्ने वाचा गरेको थियो । तर, सात महिना बित्दा पनि उनीहरूको स्थायी बसोबासको टुंगो लागेको छैन । बरु अहिले होल्डिङ सेन्टरमा आश्रित परिवारलाई समेत ठाउँ खाली गर्न उर्दी जारी गरिएको छ । आखिर सरकारको पुनःस्थापनाको वाचा कहाँ पुग्यो ?  पढौं हिमालय एक्सप्लेनर

सुकुम्वासीहरूको घर भत्काउँदा सरकारले भन्यो, तपाईंहरूलाई अलपत्र पार्दैनौँ, १५ दिनभित्रै व्यवस्थापन गर्छौं । तर, सात महिना बित्दा न घर छ, न जग्गा, न लालपुर्जा । बरु अहिले सरकारले भनिरहेको छ, आफू बसेको होल्डिङ सेन्टर पनि खाली गर्नुस् । आखिर सुकुम्वासीलाई पुनःस्थापना गर्ने वाचा गरेको सरकार अहिले उनीहरूलाई कहाँ पठाउँदैछ ? काठमाडौं उपत्यकाका नदीकिनारमा रहेका सुकुम्वासी बस्तीमा वैशाख १२ गतेदेखि डोजर चल्न थाल्यो । थापाथली, सिनामंगल, मनोहरा, गैरीगाउँ, शान्तिनगर, शंखमूल, धोबीखोला, बल्खुलगायतका बस्ती खाली गराइए ।

जोखिमयुक्त ठाउँमा रहेका बस्ती हटाएर वास्तविक भूमिहीनको पहिचान गर्ने र उनीहरूलाई सुरक्षित आवासको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता सुनेका थियौँ । तर, अहिले सरकारको प्राथमिकता विस्थापित नागरिकलाई पुनःस्थापना गर्नु होइन, उनीहरूलाई राखिएको होल्डिङ सेन्टर खाली गराउनु बनेको छ । यसको पछिल्लो उदाहरण भक्तपुरको बोडे हो । यो भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा टाँसिएको जिल्ला प्रशासन कार्यालयको आधिकारिक सूचना हो । सूचनामा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १९ परिवारलाई मंसिर ११ गते दिउँसो ४ बजेसम्म सेन्टर खाली गर्न भनिएको छ।

…

जिल्ला प्रशासनले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय तहबाट प्राप्त विवरणका आधारमा सात परिवारको नाममा जग्गा रहेको देखिएको जनाएको छ । उनीहरूलाई भूमिहीन नरहेको भन्दै सेन्टर खाली गर्न भनिएको छ । बाँकी १२ परिवारको नाममा जग्गा नदेखिए पनि सम्बन्धित पालिकाबाट जग्गा उपलब्ध गराउने प्रयोजनका लागि प्रक्रिया अघि बढेको र त्यसको निस्सा प्राप्त भएको प्रशासनको दाबी छ । उनीहरूलाई पनि सेन्टर खाली गर्न भनिएको छ। सरकारले घरभाडाका लागि तोकेको सुविधा बुझ्न पनि आग्रह गरिएको छ ।

तर, १२ परिवारलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको भनिए पनि उनीहरूले जग्गा कहिले पाउँछन् ? कहाँ पाउँछन् ? र, त्यसबीच उनीहरू कहाँ बस्छन् ? यी प्रश्नको जवाफ प्रशासनको सूचनाले दिँदैन। बरु जग्गा उपलब्ध गराउने प्रक्रिया र वास्तविक बसोबासको सुनिश्चितता नहुँदै होल्डिङ सेन्टर खाली गर्न म्याद तोकिएको छ ।

बोडेमा मात्रै १९ परिवारका ५९ जना छन् । तीमध्ये १७ जना बालबालिका छन् । उनीहरूलाई राखिएको अस्थायी आश्रयस्थलबाट समेत हट्न भनिएपछि विस्थापित परिवारले निर्णय अस्वीकार गर्ने बताएका छन् । आफूहरूलाई जहाँबाट उठाइएको हो, त्यहीँ वा आसपासमा व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।

तर, बोडेमा मात्रै होइन, अहिले उपत्यकाका तीनवटा होल्डिङ सेन्टरमा ९६ परिवारका ३८८ जना आश्रित छन् । भक्तपुरको बोडेमा १९ परिवार, खरिपाटीमा ३२ परिवार र काठमाडौंको इचंगुनारायणमा ४५ परिवार छन्। यीमध्ये अधिकांश वृद्धवृद्धा, दीर्घरोगी, अपांगता भएका व्यक्ति र बालबालिका छन् । अर्थात्, सात महिना बितिसक्दा पनि सयौँ नागरिकको स्थायी बसोबासको टुंगो छैन। तर, उनीहरूलाई राखिएको अस्थायी आश्रयस्थलबाट समेत बाहिरिन दबाब बढिरहेको छ ।

१५ हजार ३१६ नागरिक विस्थापित :

जिल्ला प्रशासन कार्यालय काठमाडौंको तथ्यांकअनुसार वैशाख १२ देखि २१ गतेसम्म उपत्यकाका १६ वटा बस्तीमा डोजर चलाउँदा २ हजार ५०१ परिवारका १५ हजार ३१६ जना विस्थापित भएका थिए। यसमा ६ हजार ८५८ महिला, ५ हजार २३५ पुरुष, १ हजार ४३७ बालक र १ हजार ६९६ बालिका थिए । २ हजार ६८७ घरटहरा भत्काइएका थिए।

यद्यपि सरकारले पछि सार्वजनिक गरेको विवरणमा १७ वटा बस्तीबाट २ हजार ६०८ परिवार विस्थापनमा परेको उल्लेख छ। विवरण संकलन र दर्ताको समय तथा आधार फरक हुँदा सरकारी तथ्यांकमै केही अन्तर देखिन्छ । जे होस्, सुरुमा ३८८ परिवारका १ हजार ४८८ जनालाई सातवटा होल्डिङ सेन्टरमा राखिएको थियो । बाँकी २ हजार २२० परिवार होल्डिङ सेन्टरबाहिरै रहेको सरकारले जनाएको थियो । उनीहरूमध्ये कतिपयले आफैँ बसोबासको व्यवस्था गरेका थिए भने कतिपय आफन्तको आश्रयमा पुगेका थिए ।

विस्थापनपछि सरकारले ५ जेठमा मन्त्रिपरिषद् बैठकबाट राहत तथा अस्थायी आवाससम्बन्धी निर्णय गर्‍यो। पाँच सदस्यसम्म भएको परिवारलाई तीन महिनासम्म प्रतिमहिना १५ हजार रुपैयाँ र पाँचभन्दा बढी सदस्य भएका परिवारलाई प्रतिसदस्य थप दुई हजार रुपैयाँ उपलब्ध गराउने भनियो । वृद्धवृद्धा, अशक्त, असहाय र आफैँ व्यवस्था गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरमै राख्ने तथा बालबालिकाको पढाइ र स्वास्थ्य सेवाको व्यवस्था गर्ने पनि सरकारको निर्णय थियो ।यसअघि प्रतिपरिवार २५ हजार रुपैयाँ एकमुष्ट राहत दिने निर्णय पनि गरिएको थियो।

सरकारले असार २० गते सार्वजनिक गरेको विवरणअनुसार ४६५ परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत दिइएको थियो । अर्थात्, एक करोड १६ लाख २५ हजार रुपैयाँ वितरण गरिएको सरकारी दाबी थियो । घरभाडाबापतको १५ हजार रुपैयाँ कति परिवारले पाए भन्ने अद्यावधिक र एकीकृत विवरण भने सार्वजनिक भएको छैन । यता, सरकारले २५ हजार रुपैयाँ दिएपछि नगरकोट र बोडेका केही होल्डिङ सेन्टर खाली गरायो । असार १९ गते खातामा पैसा पठाएर असार २२ गते बागमती सभ्यताको बसमार्फत् विस्थापितलाई कोटेश्वरलगायतका स्थानमा पुर्‍याइयो। तर, उनीहरूलाई त्यहाँबाट कहाँ जाने भन्ने स्पष्ट व्यवस्था थिएन। कोठा नपाएका कतिपय परिवार आफन्त र साथीभाइको शरणमा पुगे । केही भने कोठा भाडाका लागि दिने भनिएको पैसा पनि नबुझेर आन्दोलनमा उत्रिएका थिए ।

सरकार कहाँ चुक्यो ?

विस्थापित सुकुम्वासीको सन्दर्भमा सबैभन्दा ठूलो कमजोरी विस्थापन र पुनःस्थापनाको प्राथमिकतामा देखिन्छ । वास्तविक भूमिहीनको पहिचान गरेर व्यवस्थापन गर्ने भनियो, तर पहिचान र व्यवस्थापनको टुंगो लाग्नुअघि नै बस्ती भत्काइयो । वैशाख १० गते जिल्ला प्रशासन कार्यालयले १० देखि १५ दिनभित्र वास्तविक भूमिहीनको बसोबासको उचित प्रबन्ध गर्ने आश्वासन दिएको थियो । प्रधानमन्त्री बालेन्द्र शाहले पनि वास्तविक सुकुम्वासीको पहिचान गरी स्थायी समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । तर, वैशाख १२ गतेदेखि डोजर चल्न थाल्यो । जेठ १ गतेसम्म पनि सरकार स्क्रिनिङ र प्रमाणीकरणकै प्रक्रियामै अल्झियो । त्यसो त सरकारले १३ चैतमै ६० दिनभित्र भूमिहीनको लगत संकलन र प्रमाणीकरण गर्ने प्रतिबद्धता जनाएको थियो । तर, भूमि समस्या समाधान समिति गठन गर्न नै ६७ दिन लाग्यो । अर्थात्, समस्या समाधान गर्ने समयसीमा तोक्ने सरकार आफ्नै संरचना बनाउन तोकिएको समयभन्दा ढिलो भयो ।

जेठ ५ गते सरकारले तीन महिनाको घरभाडा दिने निर्णय गर्‍यो। तर, असार ९ गते नै पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइयो । घरभाडा प्राप्त गर्न समय छोटो भएको गुनासो आएपछि असार १२ गते फेरि एक साता म्याद थपियो । यसबीच स्थायी पुनःस्थापनाको टुंगो लागेन ।

असार तेस्रो सातादेखि लालपुर्जा वितरण गर्ने प्रतिबद्धता पनि सार्वजनिक भएको थियो । भूमि व्यवस्थापनसम्बन्धी मन्त्रीले केही हप्तामै लालपुर्जा वितरण बताए पनि अहिले मंसिरको पहिलो हप्ता बितिसक्दा लागिसक्दा पनि उपत्यकाबाट विस्थापित भएका परिवारले स्थायी आवास र लालपुर्जा पाएका छैनन् ।

सरकारले यसबीच भूमि समस्या समाधान समिति गठन गर्‍यो, भूमिसम्बन्धी नियमावली संशोधन गर्‍यो, कार्यविधि बनायो र ६०० दिनभित्र देशभरका भूमिहीनको समस्या समाधान गर्ने लक्ष्य अघि सार्‍यो। यी काम नीतिगत रूपमा महत्वपूर्ण हुन सक्छन् । तर, काठमाडौंमा घर भत्काएर होल्डिङ सेन्टरमा राखिएका परिवारको तत्कालको समस्या समाधान गर्न भने पर्याप्त देखिएनन्।

सरकारको व्यवहारमाथि प्रश्न उठ्ने अर्को महत्वपूर्ण पक्ष मानव अधिकारको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले असार २५ गते नै सुकुम्वासीलाई वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउने, पर्याप्त खाना उपलब्ध नगराउने र उनीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारप्रति राज्यले अभिभावकत्व नलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो। आयोगले आवासको अधिकारसम्बन्धी ऐन, २०७५ लगायतका कानुनी व्यवस्थाको स्मरण गराउँदै विस्थापित नागरिकको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न निर्देशन दिएको थियो।

तर, अहिले फेरि बोडेमा रहेका परिवारलाई लिखित सूचना टाँसेर सेन्टर खाली गर्न भनिएको छ। जग्गा नभएका १२ परिवारलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको भनिए पनि त्यसको अन्तिम परिणाम र बसोबासको सुनिश्चितता स्पष्ट छैन।

अब मुल प्रश्नमा आउँ, के सरकारले सुकुम्वासीलाई अलपत्र पारेकै हो त ?

सरकारले केही परिवारलाई आर्थिक सहयोग गरेको छ। होल्डिङ सेन्टरमा राख्ने, खाना र आवासको अस्थायी व्यवस्था गर्ने, जग्गाको विवरण संकलन गर्ने तथा वास्तविक भूमिहीन पहिचान गर्ने काम पनि गरेको छ। त्यसैले सरकारले केही गरेकै छैन भन्न मिलेन । तर, सरकारको मूल प्रतिबद्धता विस्थापितलाई केवल २५ हजार रुपैयाँ दिएर वा तीन महिनाको घरभाडा उपलब्ध गराएर बिदा गर्नु थिएन । वास्तविक भूमिहीनको पहिचान गरी सुरक्षित र स्थायी आवासको व्यवस्था गर्नु थियो। सात महिना बितिसक्दा पनि त्यो लक्ष्य पूरा भएको छैन ।

अझ, होल्डिङ सेन्टरमा रहेका परिवारलाई बाहिरिन म्याद तोक्दा उनीहरू कहाँ जाने भन्ने प्रश्नको जवाफ पनि सरकारले दिन सकेको छैन । यो अवस्थामा सरकारले आफ्नो तत्कालीन जिम्मेवारी पूरा गरेको दाबी गर्न सक्दैन।

समग्रमा भन्नुपर्दा नदीकिनारका जोखिमयुक्त बस्ती हटाउनु आवश्यक थियो भने त्यसको विकल्प पनि राज्यले नै सुनिश्चित गर्नुपर्थ्यो । वास्तविक भूमिहीनको पहिचान गर्न नसक्नु सरकारको कमजोरी हो, त्यसको सजाय नागरिकले घर गुमाएर भोग्नुपर्ने होइन । सरकारले आज होल्डिङ सेन्टर खाली गराउनुअघि जवाफ दिनै पर्ने प्रश्न के छ भने, वैशाखमा घर भत्काएर आफ्नै जिम्मामा राखिएका यी नागरिकलाई अब कहाँ पठाउने ? उनीहरूको बालबालिकाको पढाइ, बिरामीको उपचार, रोजगारी र स्थायी बसोबासको जिम्मा कसले लिने ? अपेक्षा गरौँ सरकारले सोचेको होला र त्यो नतिजा केही दिनमा देखिएला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *