Main News

११ वर्षपछि पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा

२०८३ असोज ८ गते १९:४९
११ वर्षपछि पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किनुभएको छ। पार्टीभित्र बढेको आन्तरिक असन्तुष्टि र चुनावी धक्काबीच अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरेरै भण्डारीलाई दोस्रो वरियतामा भित्र्याउने नयाँ पासा फाल्नुभएको हो । पूर्वराष्ट्रपतिको पुनरागमनसँगै एमालेभित्र नयाँ शक्ति सन्तुलन पैदा भएको छ ।

नेकपा एमालेमा अहिले केपी ओलीले फाल्नुभएको नयाँ पासा, जसले ओली विरोधीको मुख तत्कालका लागि टालिएको छ । अर्थात् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनरागमन । सम्भव भयो, ओलीकै कारण, ओलीकै चाहनामा अनि ओलीकै रणनीतिमा।

द्या भण्डारीलाई राजनीतिमा स्थापित गराउनेदेखि शीतल निवासबाट फर्केपछि विस्थापित गराउनेसम्मको भूमिका निभाएका ओलीले अन्ततः आफ्ना विरोधीहरूको मुख टाल्न फेरि भण्डारीलाई नै उपभोग गर्न सफल हुनुभएको छ।

११ वर्षपछि एमालेको नेतृत्व तहमा भण्डारीको यो ‘कमब्याक’ कसरी सम्भव भयो त ?

२०७२ कात्तिकमा मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीले एमालेको दलीय राजनीतिबाट टाढै रहनुभयो । दुई पटक मुलुकको राष्ट्रपति बन्दा ओलीकै दरो साथ थियो । तर, शीतल निवासको कार्यकाल सकेर फर्किएपछि ओलीकै समर्थनमा एमालेको मूल राजनीतिमा फर्किने विद्याको चाहना थियो । त्यसबेला विद्या स्वयंले हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा अध्यक्ष बन्ने सम्भावना टरिनसकेको बताउनुभएको थियो । तर, बाटो सहज थिएन। सुरुमा पार्टी सदस्यता नवीकरणको प्रयास गर्दा अध्यक्ष ओलीले बालुवाटारमै बोलाएर मानमर्दन हुने गरी कटाक्ष गर्नुभएको थियो । मदन भण्डारीको ७४ औँ जयन्तीमा ओलीले सार्वजनिक रूपमै ओलीले विद्यालाई अपमान हुने अभिव्यक्ति दिनुभयो । ओलीको यो शैलीप्रति भण्डारीले असन्तोष जनाउँदै पार्टीमा एकमनावाद हाबी भएको आरोप लगाउनुभयो । विवाद यतिसम्म बढ्यो कि २०८२ साउनमा ओलीले भण्डारीको पार्टी सदस्यता नै होल्ड गराएर खारेजीको संघारमा पुर्‍याउनुभयो । तर, ३५ वर्ष योगदान गरेको सदस्यता कसैले खोस्न सक्दैन भन्दै भण्डारीले निरन्तर दाबी गरिरहनुभयो ।

पार्टीभित्र ओलीविरोधी खेमाले भण्डारीलाई आफ्नो संरक्षक मान्न थाले । पछिल्लो महाधिवेशनमा ईश्वर पोखरेल लगायतका नेताहरू ओलीविरुद्ध खडा हुनु र चुनावमा व्यहोरेको धक्कापछि महासचिव शंकर पोखरेल लगायतका नेताहरू ओलीको विकल्प बन्ने होडमा लाग्नुले ओलीमाथि चौतर्फी दबाब बढेको थियो । अहिलेपनि फेरि ओली विरोधी बवाज बलियो बन्न थालेसँगै नयाँ पासा चलेको छ ।

पार्टीभित्रको असन्तुष्टि र पुनर्गठन पक्षधरहरूको आक्रामक रूपलाई साम्य पार्न ओलीले विद्या कार्ड खेल्न सफल हुनुभएको छ । अघिल्लो वर्ष जेठमा सदस्यता नवीकरण रोक्ने निर्णय गराएका ओलीले ललितपुरको रामबाग, भनिमन्डलमा जारी केन्द्रीय कमिटी र सचिवालय बैठकमार्फत विधानमै नभएको वरिष्ठ नेता’ पद सिर्जना गरेर भण्डारीलाई भित्र्याउने प्रस्ताव अघि सारेर नयाँ राजनीति वा प्रयोग गर्नुभएको छ । अर्थात् यसअघि रास्वपाले बालेन शाहलाई भित्र्याउन अपनाएकै विधान संशोधनको मोडल पछ्याउँदै एमालेले भण्डारीलाई दोस्रो वरीयताको सम्मानित वरिष्ठ नेता बनाउने रणनीति तय गरेको छ।

ओलीको यो एउटै चालले एमाले वृत्तमा एकैसाथ दुईवटा सन्देश र प्रभाव छाडेको छ :

१. उत्तराधिकारीको सन्देश:

भण्डारीलाई आफूपछिको दोस्रो वरियतामा ल्याएर ओलीले आफ्नो सम्भावित उत्तराधिकारी हुन सक्ने सङ्केत दिनुभएको छ । यसले पार्टी अध्यक्ष बन्ने सपना देखिरहेका अन्य आकांक्षी नेताहरूलाई एकाएक दबाबमा पारिदिएको छ ।

२. विरोधी खेमाको अस्त्र निष्प्रभावी:

भण्डारीको काँधमा बन्दुक राखेर ओलीमाथि प्रहार गर्न खोज्ने पार्टीभित्रको असन्तुष्ट पक्षलाई ओलीले भण्डारीलाई नै ढाल बनाएर रोकिदिनुभएकव छ । वरिष्ठ नेताको पद पाएपछि भण्डारीले आफ्ना समर्थकहरूलाई आक्रामक नबन्न र पार्टी एकताको पक्षमा उभिन सन्देश दिइसक्नुभएको छ ।

यद्यपि, पूर्वराष्ट्रपतिको यो पुनरागमनलाई लिएर एमालेका नेताहरु भने केही सशंकित देखिएका छन् । अनि विद्याको आगमनले मात्रै आफुहरुको माग पुरा नहुने तर्क छ ।

तत्कालीन नेकपा माले र अनेरास्ववियुको राजनीति हुँदै, मदन भण्डारीको पछाडि उभिएकी विद्या आज रक्षा, जनसङ्ख्या मन्त्री हुँदै देशको दुई पटक राष्ट्रपति र पुनः एमालेको ‘वरिष्ठ नेता’ बन्नुभएको छ । एमाले र नेकपाबीच सहकार्यको बहस चलिरहँदा भण्डारीलाई एकीकृत पार्टीको भावी अध्यक्षका रूपमा समेत हेर्न थालिएको छ।

जसले जे भने पनि, राजनीतिमा सङ्कट आउँदा विरोधीलाई पन्छाउने र अनुकूलता सिर्जना गर्ने ओलीको चाल फेरि एकपटक सफल भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *