राजनीति

रास्वपाका समर्थकको निशानामा हर्क, प्रधानमन्त्रीलाई प्रश्न गर्दा गालीको ओइरो

हिमालय टिभी
२०८३ जेठ ३० गते १९:२७
रास्वपाका समर्थकको निशानामा हर्क, प्रधानमन्त्रीलाई प्रश्न गर्दा गालीको ओइरो

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिपक्षी भूमिकामै आलोचित भइरहनुभएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति र सभामुखको भूमिकालाई लिएर संसदमा निरन्तर विरोधमा उत्रिरहनुभएका साम्पाङले आज फेरि एकलट गाली खानुभयो । मुख्य गरी नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपाको आधिकारिक धारणा के हो भन्ने प्रश्न गर्दा साम्पाङ पुनः चर्का गालीको केन्द्रमा पर्नुभएको हो ।

अहिले नेपालमा सबैभन्दा बढी गाली खाइरहेको मान्छे को होला ? सायद यो नाम सबैको दिमागमा आइसक्यो होला, हर्क साम्पाङ राई । श्रम संस्कृति पार्टीका अध्यक्ष राईले सबैभन्दा बढी गाली खानी कारण चाँहि मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्तिको नेतृत्वमा रहेको बर्तमान सरकारलाई दखल दिने प्रयास गर्नु हो ।

प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममथि उठेका प्रश्नमा जवाफ दिन नआएको विषयमा होस् वा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको विषयमा होस् ।

जसरी श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको आलोचना गरेको छ, जसरी संसदमा बारम्बार विरोध प्रदर्शन गरिरहेको छ, जसरी सभामुखले पकपटक दिएका निर्देशनसमेत अटेरी गरेको छ, त्यही आधारमा यो पार्टीका अध्यक्षले निरन्तर गाली खाइरहनु भएको छ । तपाईंले सामाजिक सञ्जालमा हर्क साम्पाङको नाम राखेर स्क्रोल गर्दै जानुभयो भने यति गाली भेट्नुहुन्छ कि, त्यति त साम्पाङ स्वयं पोष्ट पनि छैनन् ।

अर्थात्, साम्पाङ जसरी दैनिक कयौँ पोष्टहरु थपिरहनुभएको हुन्छ, त्यसै गरी उहाँमाथि गालीको वर्षा गराउनेहरु लाइन लागेर स्टाटस लेखिरहेका छन्, आलोचना गरिरहेका छन् ।

साम्पाङ यस मानेमा पनि बढी गाली खानेमा पर्नुहुन्छ, कि उहाँले रास्वपा नेतृत्वको सरकारको मात्र होइन, पार्टीकै आलोचना गरिरहनुभएको छ । यसले रास्वपा समर्थकहरु उहाँविरुद्ध आक्रामक बनिरहेका छन् र यो संख्या स्वभाविक रुपमा ठूलो छ ।

जेठ १७ गते प्रधानमन्त्री शाहले संसदमा अचानक उपस्थित भएर जवाफ दिएयता श्रम संस्कृति पार्टी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध आन्दोलित छ । त्यसअघि प्रधानमन्त्री संसदमा उपस्थित नभएको भन्दै आन्दोलित थियो । त्यसो त अरु दल पनि विरोधमै थिए । तर, श्रम संस्कृति पार्टीको विरोध अनियन्त्रि अवस्थामा पुगेको थियो । निरन्तर गाली खाइरहेका साम्पाङ शनिबार एउटा भिडियोमार्फत् आफूले गाली किन खाइरहेको छु भन्ने सन्देश लिएर फेसबुक समर्थक वा आालोचकमाझ उपस्थित हुनुभयो ।

त्यसो त साम्पाङ गाली खानुको कारण मात्रै लिएर उपस्थित हुनुभएन, बरु अझै विरोध चर्काउने र सभामुखलाई दैनिक अप्ठेरो प्रश्न सोध्ने गरी उपस्थित हुने चेतावनी नै दिनुभयो ।

नीति तथा कार्यक्रमको विषयबाट बाहिर निस्किएर प्रधानमन्त्रीको अभिव्यक्ति केन्द्रित विरोधमा जुटेका साम्पाङले शुक्रबार नै रास्वपा सभापति रवि लामिछानेको नाममा खुला पत्र लेख्दै ‘नेपालले पनि भारतको सीमा मिचेको विषयमा आधिकारिक धारणा के हो’ भन्ने प्रश्न गर्नुभएको छ ।

५० शब्द समावेश एक वाक्यमा लेखिएको खुला पत्रमा उहाँले प्रधानमन्त्री पनि रास्वपा सदस्य भएकाले पार्टीको धारणा मागेको देखिन्छ ।

यो सामग्री तयार पारुन्जेल एक हजारभन्दा बढी कमेन्ट पाएको यो पोष्टमा साम्पाङले झण्डै झण्डै शतप्रतिशत गाली खानुभएको छ । जसमा पुल बनाउनका लागि क्यूआरमार्फत् रकम संकलन गरिएको विषय वा पारुहाङ शालिक निर्माणका क्रममा घोटाला गरेको जस्ता आरोपहरु उहाँमाथि लगाइएको छ ।

यो दृष्यले संसदमा सबैभन्दा आक्रामक प्रतिपक्षी भूमिका निभाइरहेका साम्पाङले प्रतिपक्षीबाट समर्थन प्राप्त गरिरहेको भए पनि रास्वपा समर्थकबाट भने खुलमखुल्ला गाली खाइरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *