कर्णाली प्रदेश

कर्णालीमा लैङ्गिक हिंसा रोकथाम सम्बन्धी संवाद सम्पन्न

हिमालय टिभी
२०८१ मंसिर २४ गते १५:४३
कर्णालीमा लैङ्गिक हिंसा रोकथाम सम्बन्धी संवाद  सम्पन्न

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक विकास मन्त्रालय, यूरोपेली संघ, र संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्य केन्द्रित बहु-सरोकारवाला संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यता थियो। उहाँले लैङ्गिक हिंसा रोकथाम गर्न सबैको सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भन्नुभयो,“आर्थिक सशक्तिकरणले समानता ल्याउने भएकाले सिप विकास, रोजगारी सिर्जना र प्रविधिको प्रयोगमा ध्यान दिनुपर्छ।”

यूरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले नेपालको सन्दर्भमा लैङ्गिक हिंसाको अवस्था सुधार गर्न आर्थिक स्वतन्त्रता र सशक्तिकरणको महत्वको चर्चा गर्दै भन्नुभयो, “केही दशक अघि युरोपमा पनि यस्तै अवस्था थियो, तर महिलाको सशक्तिकरणले त्यहाँ सकारात्मक परिवर्तन ल्याएको छ। नेपालमा पनि महिलाहरूलाई अझ सशक्त बनाउन सके परिवर्तन सम्भव छ।”

संयुक्त राष्ट्रसंघका प्रतिनिधि, अन्तर्राष्ट्रिय श्रम संगठनका राष्ट्रिय प्रतिनिधि नुमन ओज्कानले “केयर अर्थतन्त्रमा महिला(पुरुषको समान भूमिका र सकारात्मक पुरुषत्वलाई प्रोत्साहन गर्न सके लैङ्गिक हिंसा रोकथाम सम्भव छ,” भन्नुभयो।

कार्यक्रममा विभिन्न सरकारी निकाय, नागरिक समाज, संस्थागत नेतृत्व र निजी क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। प्यानल छलफलमा सेवा प्रदायक, बाल क्लब सञ्जालका प्रतिनिधि, र लैंङ्गिक हिंसा प्रभावित व्यक्तिहरूले आफ्नो अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए।

सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत आयोजित यो कार्यक्रममा सहभागीहरूले एकीकृत रणनीति विकास, प्रभावित -केंद्रित सेवा सुदृढीकरण, र बाल(संवेदनशील नीतिहरूको विकासमा जोड दिएका थिए। कार्यक्रमले कर्णाली प्रदेशमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *