निर्वाचन आयोगले पूरा गर्यो तयारी (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०७९ काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सबैजसो तयारी पूरा गरेको छ ।
मतदानदेखि मतगणनासम्मका प्रक्रियागत कामहरु बाहेक अधिकांश काम सम्पन्न भइसकेको छ । मतदानका लागि अब जम्मा ८ दिन बाँकी रहँदा अब जिल्ला केन्द्रित कामहरु मात्रै बाँकी रहेको आयोगको भनाइ छ ।
मतदान अधिकृत सहित कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदान केन्द्रहरुमा खटिइसकेका छन् । जिल्ला निर्वाचन कार्यालय, मतदान केन्द्र र मतगणनास्थलमा मतपत्र बाहेकका ५७ प्रकारका सामग्री पठाइसकिएको छ भने १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाउने कार्यसमेत सम्पन्न भएको छ ।
अब मंसिर १ गतेदेखि मतपत्र र अन्य सामग्री मतस्थलमा पुग्नेछ । प्रत्यक्ष तर्फको निर्वाचनका लागि आयोगले संघ र प्रदेशको गरी तीन करोड ९७ लाख ८९ हजार पाँच सय र समानुपातिकतर्फ चार करोड ६ लाख पाँच हजार मतपत्र छापेको थियो ।
१० हजारभन्दा बढी मतदान स्थल र २२ हजार बढी मतकेन्द्रका लागि ५५ हजारभन्दा बढी मतपेटिका पठाइसकिएको छ । अहिले आयोगले स्थानीय तहहरुसँगको समन्वयमा घरघरमा पुगेर मतदाता शिक्षा दिइरहेको छ ।
मतदान अधिकृतहरुलाई दिइने आन्तरिक निर्देशन, मतदातालाई विभिन्न माध्यमबाट सुसूचित गर्ने लगायतका कामहरु आयोगले जारी राखेको छ । आफ्नो तर्फबाट गर्नुपर्ने काम सम्पन्न गरिसेकेको र यसपटक करिब ७० प्रतिशत माथिले मतदान गर्ने आयोगको दाबी छ ।
आयोगले सुरक्षा निकायहरुसँगको समन्वयमा मतदान केन्द्र र स्थलहरुको सुरक्षा गम्भीरता, निर्वाचन प्रचारप्रसार कार्यक्रमहरुको अनुगमन लगायतका कामहरु पनि जारी राखेको छ । देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।
मतदानका लागि निर्वाचन आयोगको चुस्त व्यवस्था रहने र मतदाताले बिहान ७ बजेदेखि बेलुका ५ बजेभित्र निर्धक्कताका साथ मतदान गर्ने वातावरण बन्ने आयोगले जनाएको छ । गत साउन २० गते सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगले निर्वाचनको काम सुरु गरेको थियो ।
प्रतिक्रिया