Main News

चुनावी चटारो : विदाका दिन पनि आयोगका कर्मचारी काममा व्यस्त (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ८ गते २१:०९
चुनावी चटारो : विदाका दिन पनि आयोगका कर्मचारी काममा व्यस्त (भिडियो रिपोर्टसहित)

८ कात्तिक २०७९ काठमाडौं । मंसिर चार गतेका लागि तोकिएको निर्वाचन आउन जम्मा २६ दिन बाँकी रहँदा निर्वाचन आयोगलाई भ्याइ नभ्याइ छ । दशैंका दिनमा समेत निर्वाचनको तयारीको काम भएकोमा तिहारमा पनि आयोगका कर्मचारी काममा खटिएका छन् ।

निर्वाचनका लागि सामान्यतया एक सय बीस दिनको समय आवश्यक पर्छ । तर यस पटक त्यो भन्दा कम समय एक सय सात दिन मात्रै समय राखेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरियो ।

कम समय, त्यसमा पनि नेपालीहरुको महत्वपूर्ण पर्व दशैं तिहार यही अवधिमा पर्ने भएपछि निर्वाचन आयोगलाई समय तालिका मिलाउन हम्मे(हम्मे पर्यो । तर आयोगले दशैं तिहारमा पनि कार्यालय खुल्लै राखेर निर्वाचनको तयारी गर्ने निर्णय गर्यो ।

आयोगका कर्मचारीले मात्रै आवश्यक तयारीको काम गर्न नसक्ने भएपछि अन्य सरकारी कार्यालयहरुबाट कर्मचारीहरुलाई काजमा बोलाएर काममा लगाइएको छ । आयोगको स्थायी दरबन्दी एक सय १४ जना भएकोमा बाहिरबाट थप २ सय हाराहारीमा जनशक्ति काजमा ल्याएर निर्वाचनको तयारीको काम भैरहेको आयोगका प्रवक्ता लालिग्राम शर्मा पौडेलले जानकारी दिनु भयो ।

तिहारको समयमा आलोपालो गरेर, कसैलाई एक दुईघण्टा किनमेल र भेटघाटका लागि समय दिने गरिएको प्रवक्ता शर्माको भनाइ छ । निर्वाचनमा खटिने सबै कर्मचारीलाई खाइपाई आएको तलबको थप एक सय प्रतिशत भत्ता उपलब्ध गराइएको छ ।

तलब स्केलको सय प्रतिशत भत्ता बाहेक पर्व तथा बिदाको दिनमा आएर काम गर्दा अतिरिक्त भत्ताको व्यवस्था नरहेको आयोगले जनाएको छ। अहिलेसम्म समानुपातिक तर्फको सम्पूर्ण मतपत्र छपाई सकिएर केही हिमाली जिल्लामा बाहेक अन्य जिल्लाहरुमा ढुवानीको काम सम्पन्न भैरहेको छ ।

प्रत्यक्ष तर्फ पनि धमाधम मतपत्र छपाईको काम भैरहेको आयोगले जनाएको छ । चाडपर्वको अवसरमा अन्य सरकारी कार्यालय, बैंक तथा नीति कम्पनीहरु बन्द हुने भएकाले सहकार्यमा गर्नुपर्ने कतिपय कामहरु भने प्रभावित हुने गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *