निर्वाचन आचारसंहितालाई पालना गर्न उम्मेदवारलाई आयोगको आग्रह

२६ असोज २०७९ काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेद्वारी दिएका उम्मेद्वारहरू चुनावी प्रचारमा लागेका छन् ।
दलबाट तथा स्वतन्त्र रुपमा उठेका उम्मेद्वारहरू पनि आ आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत भएर चुनावी प्रचारमा सक्रिय भएका हुन् । दलीय तवरले प्रतिस्पर्धामा रहेका नेताहरू आफ्नो क्षेत्रमा सभा सम्मेलन गर्ने, कार्यकर्ता भेटघाट गर्ने तथा आगामी रणनीति बनाउनमा व्यस्त रहेका छन् ।
कतिपय उम्मेद्वारले भने फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा आफ्नो प्रचार सुरु गरिसकेका छन् । यता निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल एवं उम्मेदवारलाई अनुरोध गर्नुभएको छ ।
यसैबीच निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारले जरिवाना बुझाएमा मनोनयन दर्ता कायम गर्न निर्देशन दिएको छ ।
आयोगले मनोनयनपत्रको जाँचबुझ गर्ने समयसीमा भित्रमा जरिवाना रकम बुझाएको निस्सा पेस गरेमा त्यस्ता व्यक्तिको मनोनयन कायम गर्न सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
यस्तै आयोगले आचारसंहिता पालना गरे नगरेको बारेमा कडाइका साथ अनुगमन थालेको पनि जनाएको छ ।
आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी विद्यालय तथा विश्वविद्यालयमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरू प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै त्यसो नगर्न आयोगले सचेत गराएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
प्रतिक्रिया