Main News

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रक्रिया आजबाट शुरु हुँदै

हिमालय टिभी
२०७९ असोज २ गते ९:०५
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रक्रिया आजबाट शुरु हुँदै

२ असोज २०७९ काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रक्रिया आजबाट शुरु हुँदैछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार राजनीतिक दलहरूले आज र भोलिमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ । आगामी चुनावबाट सङ्घीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ जना सदस्य निर्वाचित हुनेछन् ।

राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ । समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको नाम पेस गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ ।

राजनीतिक दलले बन्दसूचीमा नाम पेस गरेको केही दिनभित्रै आयोगले निर्वाचन आचारसंहितासमेत लागू गर्ने तयारी गरेको छ । प्रत्यक्षतर्फको निर्वाचन प्रक्रिया सुरु गर्न आयोगले असोज ११ गते निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।

असोज २३ गतेदेखि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सुरु हुनेछ । उक्त दिन नै मनोनयन दर्ता सुरु गर्नका लागि असोज २१ गते प्रत्येक निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

कात्तिक २५ गतेभित्र आयोगले अधिकांश मतपत्र छाप्ने कार्य टुङ्ग्याउने, मतदान सामग्री ढुवानी गर्ने, मतदान अधिकृत र कर्मचारी नियुक्त गर्नेगरी निर्वाचन तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *