Main News

निर्वाचनको सम्मुखमा ओलीको पैदल मार्च : संविधानको रक्षक भएकाे देखाउने कोसिस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १ गते २१:३८
निर्वाचनको सम्मुखमा ओलीको पैदल मार्च : संविधानको रक्षक भएकाे देखाउने कोसिस (भिडियो रिपोर्टसहित)

१ असोज २०७९ काठमाडौं । संविधान दिवसको अवसर पारेर नेकपा एमालेले काठमाडौंमा वाकाथन अर्थात् पैदल मार्च गरेको छ । मंसिर ४ गतेका लागि तोकिएको आम निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगलाई बुझाउने अघिल्लो दिन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेले गरेको पैदल मार्चको सन्देश के हो ?

पत्नी राधिका शाक्यसहित पैदल मार्चको नेतृत्व गर्न निस्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन नदिइएकाले त्यसको अगुवाई नेकपा एमालेले गरेको दाबी गर्नुभयो ।

एमालेबाट भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका ओली स्पोर्टस् लुक्समा बसन्तपुर दरबार क्षेत्रमा पुगेर संविधान दिवसलाई आफ्नो बलबुताले राष्ट्रिय दिवसका रुपमा मनाउन सफल भएको जिकिर गर्नुभयो ।

आगामी निर्वाचनका लागि नेकपा एमालेले राप्रपा र राप्रपा नेपालसँग विभिन्न निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने तयारी गरिरहेको छ । स्थानीय तह निर्वाचनमा पनि मुख्य पालिकामा पाँच दलीय गठबन्धन हुँदा एमालेले केही पालिकामा राप्रपा र केही पालिकामा राप्रपा नेपालसँग तालमेल गरेको थियो ।

यतिबेला सत्तामा रहेका पाँच दल एउटै चुनावी मोर्चा बनाएर अघि बढिरहँदा उनीहरुको एकमात्र एजेण्डा ‘संविधानको रक्षा’ भन्ने छ । तर पाँच दलीय गठबन्धनको सरकारलाई ‘परमादेशी’ शब्दले सम्बोधन गर्ने गरेको एमाले पनि यो सरकार संविधान मिचेरै बनेको भन्दै संविधानको रक्षा गर्ने दायित्व एमालेकै भएको दाबी गर्दै आएको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीकै सिफारिसमा २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि उहाँविरुद्ध संविधान मिचेको वा संविधानको हत्या गर्न लालायीत बनेको आरोप लाग्यो ।

त्यसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनर्स्थापना गरेको संसद ओलीकै सिफारिसमा फेरि २०७८ जेठ ८ गते विघटन भयो । संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रधानमन्त्रीका लागि दाबी पेश गरेका ओलीको बहुमत नपुगेको भन्दै ओलीकै सिफारिसमा दोस्रो पटक संसद विघटन भएको थियो ।

तर त्यही धारा बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सांसद लिएर राष्ट्रपति कार्यालय पुगेका शेरबहादुर देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विषयमा सर्वोच्चमा रिट परेपछि सर्वोच्चले परमादेशमार्फत् देउवाको नेतृत्वमा सरकार गठनको आदेश दियो ।

संविधानमाथि मनोमानी गरेका यी घटना बाहेक संसद अधिवेश अन्त्य गरेर अध्यादेश जारी गरेको तथा संविधानप्रदत्त कतिपय मौलिक हकमाथि हस्तक्षेप हुने गरी कानून बनाएको आरोप ओलीमाथि लागिरह्यो ।

यी तमाम आरोपबीच सरकारबाट बाहिरिएपछि ओलीले बर्तमान गठबन्धन सरकारका कमजोरीमाथि प्रहार गर्दै आफूलाई संविधानको रक्षकका रुपमा स्थापित गर्ने प्रयासमा अघि बढाइरहनु भएको छ ।

शनिबार पैदल मार्च गरेर बसन्तपुरमा भेला भएका कार्यकर्तालाई सम्बोधन गरेपछि प्रतिनिधिसभाको अन्तिम बैठकमा पुगेका ओलीले, आफूले संविधान नमिचेको, प्रतिगमन नगरेको बरु बर्तमान सरकार र अदालत नै प्रतिगमनको मतियार भएको आरोप लगाउनुभयो ।

निर्वाचनको सम्मुखमा आएर ओलीले संविधानको रक्षा गर्ने पार्टी एमाले नै रहेको दाबी गर्ने गरी दिवसको दुई दिनअघि नै पैदल मार्च गरेर आफूमाथि लागेको दाग मेट्ने प्रयास गर्नुभएको छ । अनि ट्र्याक सुट र चुच्चे टोपीमा सजिएर अझै देशको लगाम समाउन सक्ने सामर्थ्य रहेको सन्देश दिन खोज्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *