Main News

मजदुरको आन्दोलनले ठप्प भयो सुनकोसी मरिन डाइभर्सनको काम (भिडियो रिपोर्टसहित)

२०७९ साउन १७ गते २०:४२
मजदुरको आन्दोलनले ठप्प भयो सुनकोसी मरिन डाइभर्सनको काम (भिडियो रिपोर्टसहित)

१७ साउन २०७९ सिन्धुली । सिन्धुलीमा निर्माणाधीन गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनमा कार्यरत मजदुरले काम ठप्प पारेका छन् । न्युनतम ज्याला समेत नपाएको भन्दै मजदुरले काम ठप्प परेका हुन् ।

निर्माणाधीन सुनकोशी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरले न्यूनतम ज्याला समेत नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा ज्ञापन पत्र बुझाए । शुक्रबारदेखि आन्दोलित मजदुर न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा आएका हुन् । उनीहरुले जिल्लाको दर रेट अनुसारको न्यूनतम पारिश्रमिक आफुहरुले पाउनु पर्ने माग राख्दै काम समेत ठप्प पारेका छन् ।

जिल्ला प्रशासनले तोकेको दररेट अनुसार अदक्ष अर्थात लेवरको ज्याला ८ सय र दक्ष मिस्त्रीको ज्याला एक हजार रुपैँया हो । तर ठेक्का पाएको कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभ्याक) ले लेबरलाई ५ सय ८० र दक्ष मिस्त्रीलाई ७०० रुपैँया दिएको मजदुर बताउँछन् । ज्यालादर कम दिनुका साथै अभद्र व्यवहार गर्ने गरेको उनीहरुको गुनासो छ ।

आयोजकलाई सम्बोधन गरी मजदुरहरुले जिल्ला दररेट अनुसारको ज्याला पाउनुपर्ने, ओभर टाइमको रकम डेढी हुनुपर्ने, शनिबार तथा अन्य विदाको दिनको हाजिरा पाउनुपर्ने, रात्रिकालीन कामको दोब्बर ज्याला हुनुपर्ने, श्रमिकहरुलाई काममा विभेद हुन नहुने, श्रमिकलाई अभद्र व्यवहार गर्न नहुने जस्ता १० माग राखेर मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् । निर्माण कम्पनी भने उचित पारिश्रमिक दिएको भन्दै उम्किने प्रयास गर्दै आएको छ ।

सुनकोशी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराइका खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले ८ महिना अघिदेखि सुरुङ खन्न थालिएको हो । सुरुङ खन्नको लागि प्रवेश मार्गमा पाँच सय भन्दा बढी नेपाली मजदुरहरु कार्यरत रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *