Main News

पत्रकारमाथि मेयर साहले गरेको दुर्व्यवहारको महासंघद्वारा निन्दा

हिमालय टिभी
२०७९ असार १ गते १८:३६
पत्रकारमाथि मेयर साहले गरेको दुर्व्यवहारको महासंघद्वारा निन्दा

१ असार २०७९ काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहले समाचार संकलनका क्रममा हिमालय टेलिभिजनका पत्रकारद्वय प्रिन्स मिश्र र अभिष्ट लामालाई समाचार संकलनका क्रममा दुर्व्यवहार गरेको घटनाप्रति आपत्ति जनाएको छ ।

आज दिउँसो १ बजे समाचार संकलनका क्रममा टेकुस्थित वातावरण विभाग पुगेका टेलिभिजनका पत्रकारद्वय प्रिन्स मिश्र र अभिष्ट लामालाई साहले बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाउनु निन्दनीय भएको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महानगरपालिकाले डम्पिङ साइटबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहरको अवस्थाबारे समाचार संकलनका लागि पत्रकारद्वय त्यहाँ पुगेका थिए । स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघको ठहर छ ।

महासंघले संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।

त्यस्तै, नेपाल प्रेस युनियनले पनि संमाचार संकलनमा अवरोध पुर्‍याउने कार्य प्रेस स्वतन्त्रताविरोधी भन्दै भर्त्सना गरेको छ ।

युनियनका कोषाध्यक्ष सरोज अधिकारीले सूचना संकलनमा अवरोध पुर्‍याउने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भन्दै मेयर साहलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न ध्यानाकार्षण गराएका छन् ।

यो पनि पढ्नुस्
काठमाडौंका मेयर साहद्वारा हिमालय टेलिभिजनकर्मीमाथि दुर्व्यवहार (भिडियो रिपोर्टसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *