Main News

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइँदै

हिमालय टिभी
२०७९ जेठ २१ गते ९:२२
आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइँदै

२१ जेठ २०७९ काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सरकारले नेपाललाई छुवाछूतमुक्त घोषणा गरेको अवसरमा यो दिवस मनाउँदै आएको छ । नेपाललाई छुवाछूतमुक्त घोषणा गरेको १६ वर्ष पूरा भएको छ ।

त्यस्तै नेपालले कानुनी रूपमा जातीय भेदभाव र छुवाछूत निषेध गरेको ५९ वर्ष र सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र बनेको ५१ वर्ष बितेको छ । तर, दलितमाथि हुने अत्याचारको शृङ्खला भने उस्तै छ ।

यसैबीच, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु अपमानजनक कार्य भएको बताउनुभएको छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुने गरी जिउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित हुनुपर्ने बताउनुभयो । उहाँले समाजबाट सबै प्रकारका विभेद अन्त्य गर्नका लागि सबै सरोकारवालाहरूसँग आग्रह पनि गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सन्देशमा जातीय भेदभाव र छुवाछूतको व्यवहार सभ्य समाजको कलङ्कको रूपमा रहेकाले विभेद अन्त्यका लागि बनेका कानुनको सार्थक कार्यान्वयनमा जोड दिनुभयो । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले दिवसको अवसरमा शुभकामना दिँदै संविधान र कानूनमा छुवाछुत र भेदभाव विरुद्धका व्यवस्थाहरू उल्लेख भए पनि व्यवहारमा पूर्ण रूपमा छुवाछुतजन्य कार्यहरू अन्त्य हुन नसकेकोले समस्याहरू कायमै रहेको बताउनुभयो ।

उहाँले मानवीय मूल्य, मान्यता र समानतामा आधारित सभ्य एवम् समतामूलक समाज निर्माण गर्न जातीय भेदभाव तथा छुवाछुतको पीडामा परेका व्यक्ति, परिवार तथा समुदाय मात्र नभएर हरेक व्यक्ति, परिवार, समाज तथा राष्ट्र नै लाग्नु पर्ने आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

छुवाछुत तथा भेदभाव निरुपणका लागि कानूनी उपचारको व्यवस्था भएको हुँदा, यस्ता प्रकृतिका घटना भएमा सबै जनसमुदायमा कानूनी उपचारको मार्ग अवलम्बन गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *