स्थानीय तह निर्वाचनमा एमालेको जित सुनिश्ति भइसकेको अध्यक्ष ओलीको दाबी
२७ वैशाख २०७९ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दावी गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले आफूहरु एमालेको जितका लागि वैशाख ३० गतेको प्रतिक्षामा रहेको पनि बताउनुभयो । आज काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्याधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकीर गर्नुभयो । उहाँले एमालेले जिते मात्रै राष्ट्र निर्माणको अभियानले गति लिने पनि दोहोराउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले जितको तयारी गरिसक्यौं । नेकपा एमालेका जित अनिवार्य छ । अवश्यमभावी छ । एमालेले अत्याधिक बहुमतका साथ जित्नुपर्छ । यो व्यक्तिहरुबीचको वा उम्मेदवारबीचको मात्रै लडाई होइन । को कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होइन ।’
अध्यक्ष ओलीले सर्वोच्च अदालतले संसद विघटन गर्दा कांग्रेसको सदर गर्ने र आफ्नो पार्टीको बदर गर्ने गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले आफ्नो पार्टीले अदालत सम्मानित होस भन्ने चाहेपनि पार्टीको कार्यकर्ता न्यायाधीश हुने र सोही पार्टीको आदेश अनुसारको फैसला आउने गरेको जिकीर गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘यस देशमा एमालेले संसद भंग बदर हुन्छ । कांग्रेसले भंग गर्दा सदर हुन्छ । कांग्रेसले भंग गर्दा संविधान बमोजिम हुन्छ, लोकतान्त्रिक हुन्छ । एमालेले भंग गर्दा असंवैधानिक र अलोकतान्त्रिक हुन्छ । सर्वोच्च अदालतले अहिलेसम्म यही फैसला गरिआएको छ । म त्यतापट्टि जान चाहन्नँ । हामी अदालत सम्मानित होस भन्ने चाहन्छौं । जनताले विश्वास गर्न लायकको अदालत होस् । अदालतका न्यायाधीशहरुको नियुक्ति तटस्थ ढंगले होस् । तर पार्टीका कार्यकर्तालाई सर्वोच्च अदालतको न्यायाधीश बनाएपछि उसले पार्टीकै आदेश अनुसार फैसला गर्दोरहेछ ।’
अध्यक्ष ओलीले देशभर आफ्नो पार्टीको पक्षमा जनमत रहेको उल्लेख गर्दै त्यसको संरक्षण गर्ने काममा चनाखो रहन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।
प्रतिक्रिया