Main News

क-कसले गर्दैछन् निर्वाचन आचारसंहिता उल्लंघन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १६ गते २१:१०
क-कसले गर्दैछन् निर्वाचन आचारसंहिता उल्लंघन ?  (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०७९ काठमाडौं । स्थानीय तहको मतदानका लागि अब २ साता मात्रै बाँकी छ । उम्मेदवारी मनोनयन दर्ता भएसँगै मुलुक यतिबेला निर्वाचनमय भएको छ ।निर्वाचनलाई व्यवस्थित बनाउन निर्वाचन आयोगले भरपर्दो व्यवस्था गरेको बताए पनि मिति नजिकिएसँगै आचारसंहिता उल्लंघनको घटना भने बढ्न थालेको छ ।

दल र जनप्रतिनिधिहरुले कै असन्तुष्टिकाबीच निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गर्‍यो । सरकारी स्रोतको दुरुपयोग हुन सक्ने भन्दै नयाँ आचारसंहितामा यस्तो प्रावधान गरिएको हो ।

तर उम्मेदवारको मनोनयनदर्ता भएसँगै अहिले संघ र प्रदेश सरकारका मन्त्री नै सरकारी स्रोतको दुरुपयोग गर्न तछाँड–मछाड देखिन्छन । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कार्चेन लामाले सरकारी गाडीको दुरुपयोग गर्दै चुनावी प्रचारमा लागेको उजुरी नै पर्‍यो ।

बिहीबार नेकपा एमाले हुम्लाले आचारसंहिता उल्लंघन गरेको आरोपमा मन्त्री लामालाई कारबाही गर्न माग गर्दै उजुरी दिएको छ । निर्वाचन मिति नजिकिएसँगै प्रचार–प्रसारका क्रममा मन्त्रीहरुबाटै आचारसंहिता उल्लंघन हुन थालेकाले आयोगले थप सक्रियता नदेखाउने हो भने स्वच्छ र निष्पक्ष निर्वाचन हुन नसक्ने एमालेको ठहर छ ।

यति मात्र होइन, भरतपुर महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन त गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ सरकारी गाडीमा झन्डा हल्लाउँदै सुरक्षादस्ता सहित भरतपुरस्थित पौडेल निवासमै पुग्नुभयो ।

परराष्ट्रमन्त्री नारायण खड्का पनि गृहजिल्ला उदयपुरमा चुनावी प्रचारमै व्यस्त हुनुहुन्छ । तर कांग्रेस नेताहरु भने आचारसंहिता विपरित गएर निर्वाचनलाई प्रभावित बनाउने कुनै काम सरकारको तर्फबाट नभएको दाबी गर्छन ।

आचारसंहिता पालना गर्छु भनेर दलहरूले पनि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन । आफूले गरेको प्रतिबद्धता दलहरुले सम्झनुपर्छ । आचारसंहिता उल्लंघन गर्ने कतिपयलाई ठाउँको ठाउँ कारबाही गर्ने, स्पष्टीकरण सोध्ने वा एक लाखसम्म जरिवाना गर्न सक्ने अधिकार निर्वाचन आयोगलाई छ ।

यस्तै आचारसंहिता उल्लंघन गरेको प्रमाणित भएमा निर्वाचन हुँदै गर्दा उम्मेदवारी रद्द गर्ने अधिकार पनि छ । यसर्थ उम्मेदवार र दलका नेताले यसलाई स्मरण गर्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *