स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन पत्र दर्ता गरिँदै
११ वैशाख २०७९ काठमाडौं । यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता गरिँदैछ ।
देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आज र भोलि मनोनयन दर्ता गरिन लागेको हो ।
गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार आज र भोलि दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको आयोगले जनाएको छ ।
वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्णरूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ ।
प्रतिक्रिया