Main News

गोलाप्रथाबाट समय निर्धारण नगर्न निर्वाचन अधिकृतलाई आयोगको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १० गते १९:१०
गोलाप्रथाबाट समय निर्धारण नगर्न निर्वाचन अधिकृतलाई आयोगको निर्देशन (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूर्वनिर्धारित कार्यतालिका अनुरुप नै भइरहेको बताएको छ ।

निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सबै तयारी व्यवस्थित रुपमा भइरहेको जानकारी दिनुभयो ।

कार्यतालिका अनुसार भोलि र पर्सि १० बजेदेखि ५ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गर्न सक्ने छन् । आयोगले उम्मेदवारलाई दुई दिनको समयमा आफ्नो अनुकूल समयमा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन दर्ता गर्न अपिल गरेको छ ।

आयोगले संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तका आधारमा उम्मेदवार दर्ता गर्न आग्रह गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ । कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन पनि आयोगले दलहरुलाई भनेको छ । यस्तै आयोगले अर्को दलको निर्वाचन चिह्न लिएर लड्ने उम्मेदवारको दलीय हैसियत सोही दलको हुने स्पष्ट पार्नु भएको छ ।

आयोगका प्रमुख थपलियाले कानुनले राजनीतिक दलको गठबन्धन वा तालेमल नबुझ्ने स्पष्ट पार्नु भयो । भविष्यमा जुन दलबाट निर्वाचित भएको हो त्यो दलले ती निर्वाचित व्यक्तिलाई कारबाही गरिएको पत्र पठाए कानुनअनुसार हुने पनि थपलिया बताउनु भयो ।

यस्तै आयोगले ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने जनाएको छ । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *