Main News

भोलि स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता, उम्मेदवारी दर्ता गर्न केके चाहिन्छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १० गते १८:५७
भोलि स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता, उम्मेदवारी दर्ता गर्न केके चाहिन्छ ? (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको समय दिइएको छ । मनोनयन दर्ता गर्दा के के कागजात चाहिन्छ र शुल्क कति लाग्छ त ?

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि आइतबार र सोमबार १० बजेदेखि ५ बजेसम्मको समय तोकेको छ ।

स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् ।

उम्मेदवारी दर्ता गराउन पहिले त सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम हुनुपर्छ । त्यसपछि सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थक आवश्यक पर्ने छ ।

नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५ सय रुपैयाँ धरौटी राख्नुपर्छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७ सय ५० रुपैयाँ मात्र लाग्नेछ ।

यस्तै कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ । कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा आवश्यक पर्नेछ ।

वडा अध्यक्षमा उम्मेदवारी दिन १ हजार रुपैयाँ शुल्कलाग्नेछ । वडा सदस्यका लागि ५ सय रुपैयाँ लाग्नेछ ।

उम्मेदवारी दर्ता गराउन केके चाहिन्छ र कति शुल्क लाग्छ ?
१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता परिचयपत्रको प्रतिलिपि
३. स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६२ बमोजिम रु।१,५००।– धरौटी राखेको बैंक भौचर वा नगदी रसिद
४. महिला र दलित वा अल्पसंख्याक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिले धरौटीवापत
रु। ७५०।– को भौचर वा रसिद
५. वडा अध्यक्षमा उम्मेदवारी दिन १ हजार रुपैयाँ र वडा सदस्यका लागि ५ सय रुपैयाँको भौचर वा रसिद
६. दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र
७. कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा

८. वारेसमार्फत मनोनयनपत्र दर्ता गराउने भएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१५ बमोजिमको वारेसनामा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *