Main News

स्थानीय तह चुनाव : कस्तो होला महानगरको निर्वाचन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ६ गते २०:२०
स्थानीय तह चुनाव : कस्तो होला महानगरको निर्वाचन ? (भिडियो रिपोर्टसहित)

६ वैशाख २०७९ काठमाडौं । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले एकएक महानगरको नेतृत्व लिने सहमति भयो । यो सँगै महानगरको निर्वाचन कस्तो होला भन्ने चासो बढेको छ ।

अघिल्लो चुनावमा साविक पोखरा लेखनाथ महानगरपालिका अहिले पोखरा महानगरपालिकाका ३३ वडामध्ये २२ वडामा एमाले विजयी भएको थियो । ११ वटा वडामा काँग्रेस विजयी भएको थियो । प्रमुखमा ६० हजार ११८ मत पाएर एमालेका मानबहादुर जिसी निर्वाचित हुनुभएको थियो । निकटतम प्रतिस्पर्धी काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभएको थियो ।

महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित हुनुभएको थियो । उहाँले ५६ हजार ४४८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत र माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७ सय ९६ मत प्राप्त गर्नुभएको थियो । अहिले पोखरा महानगर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय भएको छ ।

अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादी एकै स्थानमा हुँदा एमाले विजयी भएको पोखरा महानगरमा यो पटक गठबन्धनमा एमालेबाट टुक्रिएको एकीकृत समाजवादी पनि साथै रहँदा नतिजा कस्को पक्षमा जान्छ एकिन भन्न सक्ने अवस्था देखिँदैन ।

गत निर्वाचनमा भरतपुरको मेयर माओवादीलाई र पोखराको मेयर कांग्रेसलाई सघाउने गरी दुई दलबीच तालमेल भएको थियो। भरतपुरमा पुष्पकमल दहाल प्रचण्ड पुत्री रेणु दाहाल झिनो मतले विजयी हुनुभएको थियो ।

उहाँले ४३ हजार १ सय २७ मत प्राप्त गर्दा नेकपा एमालेका देवी प्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गर्नुभयो । उपमेयरमा माओवादीले आफ्नो उम्मेद्वार नउठाउँदा काँग्रेसका पार्वती शाह ठकुरी ४७ हजार १ सय ९७ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँको निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका दिब्य शर्माले ३९ हजार ५ सय २५ मत प्राप्त गर्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्रिनाथ तिमल्सिनाले ६ हजार ८ सय ८२ मत प्राप्त गर्नुभएको थियो । अहिले माओवादी, काँग्रेस र एकीकृत समाजवादी एकै ठाउँमा हुँदा गठबन्धन पक्ष बलियो देखिन्छ । तर, राप्रपाबाट टुक्रिएको राप्रपा नेपालले पुराना मत आफूतर्फ ल्याउन सके निर्वाचनमा कडा प्रतिस्पर्धा हुनसक्छ ।

गत निर्वाचनमा वीरगंज महानगरपालिकामा जसपा अर्थात तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगी १९ हजार ३९३ मत ल्याउँदै मेयर हुनु भएको थियो । उहाँ गएको फागुन २८ गते एमालेमा प्रवेश गर्नुभयो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका राजेशमान सिंहले १२ हजार १६५ मत ल्याउनुभएको थियो । त्यसैगरी लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले ८ हजार ७०१, नेकपा एमालेका बसरुद्धिन अन्सारीले ८ हजार ६ सय ८८ र माओवादी केन्द्रका रहवर अन्सारीले ८ हजार ३०५ मत ल्याएका थिए । अहिले जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । एमाले पनि फुटेको छ । दलहरुमा आन्तरिक किचलो बढेको छ । यसले निर्वाचन परिणामा असर गरे पनि एमाले, तराई केन्द्रित दल र सत्ता गठबन्धनबीच नै त्रिपक्षिय प्रतिष्पर्धा हुने देखिन्छ ।

गत निर्वाचनमा विराटनगर महानगरपालिकामा काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी हुनुभयो । एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत पाउनुभएको थियो ।

यस्तै माओवादी र संघीय समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८, राप्रपाका प्रह्लादप्रसाद साहले ५ हजार ५ सय २४ मत पाउनु भएको थियो । सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी एकै ठाउँमा आउँदा सत्तागठबन्धनको अवस्था बलियो देखिन्छ । तराइ केन्द्रित दलसँगको समन्वय र कमल थापाको केही मत संकलन गर्ने हो भने एमाले पनि कमजोर भने देखिँदैन ।

यसरी हेर्दा स्थानीय तहमा महानगरको निर्वाचन सबै स्थानमा प्रतिष्पर्धात्मक हुने देखिन्छ । केही नयाँ र स्वतन्त्र अनुहारको उपस्थितीले पनि निर्वाचनको दिशा परिवर्तन गर्ने संभावना पनि उत्तिकै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *