Main News

स्थानीय तह निर्वाचन : स्वतन्त्र उम्मेदवारीको लहर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २७ गते २०:५७
स्थानीय तह निर्वाचन : स्वतन्त्र उम्मेदवारीको लहर (भिडियो रिपोर्टसहित)

२७ चैत २०७८ काठमाडौं । नेपालको संविधान बमोजिम निर्वाचनमा उम्मेद्वार बन्नका लागि कुनै पार्टी वा दलमै आवद्ध हुनै पर्छ भन्ने छैन । व्यक्ति योग्य ठानेमा मतदाताले स्वतन्त्रपूर्वक उम्मेद्वार बनेका व्यक्तिलाई पनि निर्वाचित गराउन सक्छन् । निर्वाचन नजिकिँदै गर्दा अहिले दलहरु आफ्नो उम्मेद्वार चयन गर्न ब्यस्त छन् । दलसँग आबद्ध नभएका पनि स्वतन्त्र रुपमै उम्मेद्वारी दिने तयारीमा छन् ।

२०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका विभिन्न पालिकामा पनि यतिबेला धमाधम स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरिरहेका छन् । लेखक एवं साहित्यकार गनेस पौडेलले पोखराबाट शुरु गरेको “अटेरी अभियान”मार्फत यूवाहरुले स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरिरहेका छन् ।

पोखरा महानगरका विभिन्न वडामा १७ जनाले उम्मेद्वारी दिने तय भैसकेको छ । अभियानले उम्मेद्वारीको तयारी मात्र होईन पोखरालाई कस्तो शहर बनाउने भनेर “पोखरा लक्ष्य २०७९” नाम दिएर कार्ययोजना समेत सार्वजनिक गरिसकेको छ ।

स्थानीय तहको निर्वाचनमा दल हेरेर होईन व्यक्ति हेरेर निर्वाचित गराउनुपर्छ भन्ने मूल उद्देस्यका साथ पोखराबाट शुरु भएको यो अभियान देशभर फैलिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मेयरमा उठ्ने घोषणा गरेकी ईशा खड्काले देशलाई संकटबाट जोगाउन आफू पनि अभियानमा जोडिएको बताउनुभयो ।

ठूला राजनीतिक दलले नागरिकको आशा अपेक्षा अनुसार काम नगरेको आरोप लाग्ने गरेको छ । स्वतन्त्र उम्मेद्वार चुनाबी मैदानमा उत्रिँदै गर्दा ठूला दलका यिनै कमजोरीबाट फाइदा लिने विश्वासमा छन् । काठमाडौं महानगरमा ईन्जिनियरसमेत रहेका र्‍यापर बालेन शाहले केही समयअघि नै चुनावी अभियान सुरु गरिसक्नु भएको छ ।

काठमाडौं महानरपालिकामा सन् २०११ की मिस नेवा सुनिता डंगोलले पनि उम्मेद्वारी दिने तयारी गर्नुभएको छ । कैलालीको धनगढी उपमहानगरपालिका र लम्की चुहा नगरपालिकामा स्वतन्त्र उम्मेद्वारको चर्चा चलिरहेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा राम्रो मत ल्याउन सफल भए पनि निर्वाचित नभएका व्यावसायी गोपाल हमाल यसपटक पनि उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ।

बाँकेको कोहलपुर नगरपालिकामा पनि ४४ वर्षीय देव अर्यालले उम्मेद्वारी दिने घोषणा गरिसक्नु भएको छ । उहाँको टिमले नगरपालिकाको १५ वटै वडामा स्वतन्त्र उम्मेद्वारी दिने तयारीसहित घरदैलो अभियान सुरु गरिसकेको छ ।

दलहरु प्रतिको वितृष्णा र जनप्रतिनिधिका रुपमा काम गर्ने हुटहुटीले धेरै पालिकामा स्वतन्त्र उम्मेदवारी दिनेको लहर नै छ । तर मतदातामा भने यस्तो चेत कमै देखिने गरेको छ । मेनुमा जति नै नयाँ कुरा आए पनि मम वा चाउमिनबाट बाहिर आँखा नलगाउने मतदाताका कारण स्वतन्त्र उम्मेदवारलाई सजिलो भने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *