Main News

स्थानीय तह निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ के पाइन्नँ ?

हिमालय टिभी
२०७८ चैत २६ गते ८:१०
स्थानीय तह निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ के पाइन्नँ ?

२६ चैत २०७८ काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागू भएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय,अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता गएरातिबाट लागू भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । आचारसंहिता कार्यान्वयन भए–नभएको अनुगमन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र जिल्ला निर्वाचन अधिकृतले सदस्य सचिवको भूमिकामा रही सो कार्य सम्पादन गर्ने अधिकार आयोगले प्रत्यायोजन गरेको पनि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्पष्ट पार्नु भयो ।

आयोगले स्थानीय तहको उम्मेदवार बन्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सेवा, सुविधा लिएको हुन नहुने पनि स्पष्ट पारेको छ ।

त्यसैगरी निर्वाचन प्रचारप्रसारको क्रममा सामाजिक सञ्जाल प्रयोग गर्न पाईने तर त्यसको दूरुपयोग भने नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो ।

अब आचारसंहिता लागूभएसँगै वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक भएको छ ।

यसैगरी, योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदानका साथै निर्वाचनको कामबाहेक कर्मचारी सरुवा र पदस्थापनमासमेत गर्न नपाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *