महिला नेतृले गराए निर्वाचन आयोगको ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

२५ चैत २०७८ काठमाडौं । विभिन्न राजनीतिक दलमा आवद्ध महिला नेतृहरुले स्थानीय तह निर्वाचनमा महिलाको उम्मेदवारी सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी महिला नेतृहरुले संवैधानिक व्यवस्था कडाईका साथ पालना गराउन निर्वाचन आयोगसँग आग्रह गरे । कुनै दलले एउटा मात्र उम्मेद्वारी दिएमा महिला अनिवार्य हुनुपर्छ भन्ने निर्वाचन आयोगको निर्णयको स्वागत गर्दै एमाले नेतृ विन्दा पाण्डेले त्यसलाई कार्यान्वयन गराउन जोड दिनुभयो ।
सत्तारुढ नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले दलहरुले दिएको उम्मेदवारी समावेशी भएन भने त्यो स्वतः रद्ध हुने व्यवस्था गर्न पनि आयोगलाई आग्रह गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने संविधानले व्यवस्था गरेको कुरालाई सबै राजनीतिक दलले पालना गरेर जाने विश्वास व्यक्त गर्नुभयो । आयोगको निर्देशन पालना गर्ने काममा दलहरु सक्षम रहेको उहाँको भनाइ थियो
महिला नेतृहरुले निर्वाचन आचारसंहिता विपरीत खर्च गर्ने उम्मेदवारहरुको उम्मेदवारी खारेज हुने व्यवस्था गर्न पनि निर्वाचन आयोगसँग आग्रह गर्दै आएका छन । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ता गर्दाका कानुनी व्यवस्थाका बारेमा निर्देशनात्मक पत्राचार यसअघि नै गरिसकेको छ ।
प्रतिक्रिया