Main News

आज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७८ चैत २४ गते ९:११
आज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

२४ चैत २०७८ काठमाडौं । आज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइँदै छ ।

वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले स्वच्छ र हरित वातावरणको प्रवर्द्धनमा आवश्यक योगदान गर्न आह्वान गरेको छ ।

नेपालमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप(बाढी, खडेरी, अत्याधिक गर्मी तथा असुरक्षित पानीको प्रयोगले विभिन्न रोगको जोखिम बढेको छ।
नेपालमा वर्षेनी वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजञ्जय रोगका कारण २७ हजारभन्दा धेरैको अकालमै ज्यान जाने गरेको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयले सन् २०२१ मा ग्लास्गोमा सम्पन्न संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नियन्त्रण गर्न सकिने वातावरणीय कारणले प्रत्येक वर्ष विश्वभर १३ लाखभन्दा धेरै मानिसको मृत्यु हुने गरेको बताएको। विश्वमा १० मध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३ दशमलव ६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा छन् । हरेक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखालाबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *