निर्वाचन आयोगले बोलाएको बैठकमा यस्तो होहल्ला (भिडियों रिपोर्टसहित)
२२ चैत २०७८ काठमाडौं । निर्वाचन आयोगले ऐन, निर्देशिका र आचारसंहिता कार्यान्वयनका लागि दलहरुलाई आज आयोगको कार्यालय बोलायो । तर, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छलफल गर्न नदिएपछि बैठकस्थलमा साना दलहरुले होहल्ला नै गरे । त्यससँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले त प्रतिवद्धता पत्रमा हस्ताक्षर नै गरेन ।
निर्वाचन आयोगले निर्वाचन ऐन, कानून र आचारसंहिता कार्यान्वयनमा प्रतिवद्धता लिन मंगलबार बैठक बोलाएको थियो । स्थानीय तह निर्वाचनका लागि दर्ता भएका ७९ वटै दलका प्रतिनिधि आयोग पुगेका थिए ।
बैठकमा केही दलका प्रतिनिधिले आफ्नो धारणा राख्न खोजे । तर, प्रमुख आयुक्त दिनेश थपलियाले छलफलका लागि नबोलाएको भन्दै प्रतिवद्धता पत्रमा सही गर्न मात्र बोलाएको भने पछि केही दलका प्रतिनिधिहरु आक्रोशित बने ।
असन्तुष्ट दलका प्रतिनिधिहरुले निर्वाचन आयोगले सबै दललाई समान व्यवहार नगरेको आरोप लगाए । उनीहरुले प्रमुख आयुक्तलाई दलको कार्यकर्ता भएर नबोल्नसम्म भने ।
साना दलका प्रतिनिधिहरुले आफूहरुलाई निर्वाचन आचारसंहितामा छलफल गर्नै नदिएको आरोप पनि लगाए । आयोग प्रतिनिधिहरुले थामथुम पार्न निकै कोशिस गरे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त आचारसंहितामा हस्ताक्षर नै गरेन । छलफलमा तनाव उत्पन्न भएको अवस्थामा हस्ताक्षर गर्न उचित नभएको एमालेले प्रष्टीकरण दिएको छ ।
त्यसपछि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैठक बोलाउनुको कारणबारे प्रष्ट्याउने कोशिस गर्नुभयो । होहल्लाकैबीच निर्वाचन ऐन, नियम र आचारसंहिताको व्यवस्थका बारेमा जानकारी दिइयो ।
त्यसपछि आयोगका पदाधिकारीहरुले दलको धारणा नै नलिई निर्वाचन आचारसंहिता परिपालनाका लागि प्रतिवद्धता मागेका थिए । साना दलहरुको असन्तुष्टि र प्रमुख प्रतिपक्षी दलकै विरोधकाबीच प्रतिवद्धतामा हस्ताक्षर भयो । यसले निर्वाचन आयोगको शैलीमा प्रश्न उठाएको छ ।
प्रतिक्रिया