निर्वाचनमा म्यादी प्रहरीको भूमिका के हुन्छ ? (भिडियो रिपोर्टसहित)
१४ चैत २०७८ काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको माग गरेसँगै देशभरबाट करिब ३ लाखले आवेदन दिएका छन् । यी मध्येबाट १ लाख छनोट भएर परिचालन हुनेछन् । निर्वाचनमा म्यादी प्रहरीको भूमिका के हुन्छ ?
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको माग गरिएकोमा करिव तीन लाखले आवेदन भरेका छन् । छनोट प्रक्रिया जारी छ । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
युवाहरु म्यादी प्रहरीमा भर्ना हुनुको कारण धेरै छन् । निर्वाचनको समयमा म्यादी प्रहरीको आवश्यकता किन पर्छ ?
निर्वाचनका लागि १० हजार सात सय ५६ मतदान स्थल तोकिएको छ । त्यस्तै २१ हजार ९ सय ५५ मतदान केन्द्र हुनेछन् । छनोट गरिएका म्यादी प्रहरीलाई देशभरका मतदान केन्द्र र मतदान स्थलमा पठाइनेछ । यसरी परिचालन हुने म्यादी प्रहरी सुरक्षाकर्मीको सहयोगीको भूमिकामा हुन्छन् ।
मतदातालाई सहजीकरण गर्नेदेखि प्रहरीको निर्देशनमा मतदानस्थललाई चुस्त राख्ने काममा म्यादी प्रहरीको भूमिका रहन्छ । म्यादी प्रहरी हतियार चलाउने कामबाहेक मतदानस्थल र केन्द्रको सुरक्षामा खटिनुपर्नेछ ।
छनोट भएका म्यादी प्रहरीलाई ७ दिनको तालिम दिएर परिचालन गरिने छ।
प्रतिक्रिया