भारत र चीन चिढिएको वर्ष २०८१

काठमाडौं : बलियो सरकार रहँदा पनि अन्तर्राष्ट्रिय कुटनीतिक मामिलामा नेपाल खरो उत्रिन नसकेको टिकाटिप्पणी हुने गरेको छ । यसपटक संसदका दुई ठूला दल कांग्रेस–एमाले मिलेर सरकार चलाइरहेका छन् । यो सरकारसँग जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थन छ । अर्थात दुईतिहाइ बहुमतको सुविधा पनि रहेको छ । यति हुँदाहुँदै पनि वर्तमान सरकार कुटनीतिक मामिलामा ठोस परिणाम देखिने काम भएका छैनन, प्रयास भने जारी छ । कस्तो रह्यो त कुटनीतिमा २०८१ साल ?
भूराजनीतिक प्रभावमा रहेको नेपालले कुटनीतिक मामिलामा आफूलाई खरो उभ्याउन प्रयास जारी राखेको छ । पञ्चशीलका आधारमा कुटनीतिक सम्बन्धको सिद्धान्त बोकेको नेपालसँग २०८१ सालको अन्त्यसम्म आइपुग्दा शक्ति राष्ट्रहरुसँगको सम्बन्ध पुरापुर सुधार हुन सकेको छैन । हालैको थाइल्याण्डमा प्रधानमन्त्रीको ऐतिहासिक भ्रमण, द्विपक्षीय वार्ता, भारतीय प्रधानमन्त्रीसँग बैंककमा एक्ला–एक्लै साइडलाइन वार्ता, बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नेपालका लागि कुटनीतिक क्षेत्रमा यसवर्षका सफलता हुन् । तर, चीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सन्तुष्ट सन्देश आएको छैन । किनभने बीआरआई कार्यान्वयनमा ठोस उपलब्धि नदेखिनु चीन असन्तुष्टको संकेत हो । चीन सुरुदेखिनै रुष्ट छ, यस कारण कि बीआरआईबारे नकारात्मक धारणा बन्न सत्तारुढ दल तथा प्रधानमन्त्री र मन्त्री अभिव्यक्ति । नेपाल मामिलामा प्रतिष्पर्धामा रहेको अमेरिका पनि नेपालसँग खुसी भएन । बीआरआईमा हस्ताक्षर गरेर आफ्नो चाहना नजरअन्दाज गरेको अमेरिकी बुझाइ बन्न पुग्यो । त्योसँगै आफ्नै छत्रछायामा देख्न चाहेको भारतले त प्रधानमन्त्रीको राजनीतिक भ्रमण नगराएर बेखुस भएको सन्देश दिइरहेकै छ । तर, नेपालले आफ्नो आवश्यकताका आधारमा देशहरुसँगको सम्बन्ध बनाउने आफ्नो नीति रहेको विश्वसमुदायलाई भन्नै सकेको छैन । त्यसैले त हिजो–आज नेपाल पछिल्लो
समय कुटनीतिक मामिलामा कमजोर बनेको विश्लेषण हुन थालेको छ ।
२०८१ साललाई फर्केर हेर्दा नेपालको कुटनीतिक गतिविधि कस्तो रह्यो त ?
चैत (१९–२०)– प्रधानमन्त्रीबाट थाइल्याण्डको औपचारिक भ्रमण
चैत (२१–२२)– बिमस्टेक छैटौं शिखरसम्मेलनमा सहभागी
चैत (४–६)– भारतमा आयोजित रायसिना डाइलगमा परराष्ट्रमन्त्री सहभागी
फागुन (४–६)– ओमानमा आयोजित हिन्द प्रशान्त सम्मेलनमा परराष्ट्रमन्त्री सहभागी
२०८१ साल : नेपालमा विदेशी उच्च भ्रमण र बैठक
–बैशाख ५– बंगलादेशका सचिव मसुद विन मोमेनको नेपाल भ्रमण र द्विपक्षीय बैठक
–बैशाख (११–१२)– कतारी शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपाल भ्रमण
–बैशाख (२३) – जापानी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण र द्विपक्षीय बैठक
–जेठ (२३)– नेपाल–फिनल्याण्ड द्विपक्षीय संयन्त्रको दोस्रो बैठक सम्पन्न
–असार (१०–११)– चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सन विदोङको नेपाल भ्रमण र नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको बैठक
–साउन (२७–२८) – भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण र द्विपक्षीय भेटवार्ता
–भदौ (१०–११)– ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसैदीको नेपाल भ्रमण र द्विपक्षीय भेटवार्ता
–मंसिर (२१) –भूटानी राजा जिग्मे खेशर नाम्गेल वाङ्चुकको अनौपचारिक भ्रमण
–मंसिर (२३)– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको नेपाल भ्रमण, अमेरिकासँग आर्थिक र सुरक्षासम्बन्धी छलफल
यी त २०८१ मा विदेशबाट नेपालमा भएका उच्च भ्रमण र विभिन्न संयन्त्र तथा द्विपक्षीय बैठकका कुरा भए । यहीबीच नेपालबाट पनि कुटनीतिक प्रयासका लागि विभिन्न देशका भ्रमण र बैठकहरु पनि भए ।
२०८१ सालमा नेपालबाट विदेशमा भएका उच्च भ्रमण र बैठक :
–जेठ दोस्रो साता – नेपाल–चीन परम्परागत नाका सञ्चालनसम्बन्धी कार्यक्रमको मुख्य अतिथिका रुपमा परराष्ट्रमन्त्री सहभागी
–जेठ (२७)– भारतीय प्रधानमन्त्रीको सपथ समारोहमा सहभागी हुन तत्कालीन प्रधानमन्त्री प्रचण्डको दिल्ली यात्रा
–जेठ–२९ देखि असार ५ सम्म – राष्ट्रपतिको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण
–असार (२७–२८) – विमस्टेक मन्त्रीस्तरीय बैठकमा भाग लिन परराष्ट्रसचिवको भारत भ्रमण
–साउन दोस्रो साता– परराष्ट्रसचिवको चीन भ्रमण र द्विपक्षीय भेटवार्ता
–भदौ (२–६)– परराष्ट्रमन्त्रीबाट भारतको औपचारिक भ्रमण र द्विपक्षीय छलफल
–असोज (३–४) – परराष्ट्रमन्त्रीको क्यानाडा भ्रमण, क्यानाडेली परराष्ट्रमन्त्रीसँग द्विपक्षीय वार्ता र महिला परराष्ट्रमन्त्रीहरुको सम्मेलनलाई सम्बोधन
–असोज (४–१४)– संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्रीको अमेरिका भ्रमण, भारतीय प्रधानमन्त्रीसहितका विभिन्न मुलुकका प्रमुखसँग साइडलाइन वार्ता
–मंसिर (१७–२०)– प्रधानमन्त्रीबाट चीनको औपचारिक भ्रमण, द्विपक्षीय भेटवार्ता र बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
यी नेपालबाट भएका प्रमुख कुटनीतिक प्रयास हुन् ।
यो वर्षको सुरुवातमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार थियो भने मध्यमा आइपुग्दा केपी शर्मा ओली कांग्रेसको साथमा प्रधानमन्त्री बन्नुभयो । २०८० को अन्त्यमा नेपालले भारतसँग दीर्घकालीन विद्युत व्यापार कार्यान्वयनमा हस्ताक्षर गर्यो भने अन्तरदेशीय सीमापार ट्रान्समिसन लाइनमा पनि सहमति बन्यो ।
यसवर्ष नेपालले जलवायु परिवर्तनबाट परेको असर र नेपालले पाउनुपर्ने क्षतिपूर्तिका बारेमा पनि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ । यसै वर्ष हेगस्थित अन्तर्राष्ट्रिय अदालतको कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले न्याय पाउनुपर्ने माग पनि राख्नुभयो । रायसिना डाइलग होस् वा विमस्टेक शिखर सम्मेलनमा जलवायु परिवर्तनले पारेको असरमा नेपालले अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउँदै आयो । यसवर्ष नै २०७४ सालमा हस्ताक्षर भएको बीआरआई परियोजनाको फ्रेमवर्कमा पनि हस्ताक्षर भएको छ ।
यसले अमेरिका र भारत चिढिएका छन् । भारत फकाउने नेपालको रणनीतिले पनि खासै प्रभाव पार्न सकेको छैन । उता, चीनले पनि कम महत्वमा राखेको छ । त्यसैले यो वर्ष विभिन्न प्रयासका बाबजुद नेपाल कुटनीतिक सफलता पाउन नसकेको आलोचना हुने गरेको छ । अब सन् २०८२ मा नेपालले कुटनीतिक सन्तुलन कायम राखेर आफ्नो फाइदामा काम गर्ने विश्वास राखौं ।
प्रतिक्रिया