प्रजातन्त्र दिवसमा पूर्वराजा शाहको सन्देश : खास्टो ओढेर घ्यू खाने चाहना

काठमाडौं : आज फागुन ७, अर्थात नेपालमा प्रजातन्त्र स्थापना भएको दिन । २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य गर्दै मुलुकमा प्रजातन्त्र स्थापना भएको थियो ।
यो दिनलाई सम्झदै सरकारले दिवस मनाउँने मात्र गरेको छैन, सरकारका उच्चपदस्थ अधिकारी, नेता तथा पूर्वराजाले समेत शुभकामना सन्देश दिने गरेका छन् ।
अहिले चर्चा भएकोछ, पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः सत्तामा आउन खोजेको प्रयासको । अर्थात पुनः राजसंस्था फर्काउने भित्रि चाहना यसपटक पूर्वराजा शाहले खुलेआम व्यक्त गर्नुभएको छ । त्यसैले खास्टोले छोपेको बिलोले म्याउ गर्यो भन्ने उखान चरितार्थ भएकोछ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देशबाट गरेको यो अपिल ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ।’
अनि यो चाहीँ सुमधुर शैलीमा दिएको धम्की
‘यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो। त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ। त्यति मात्रै होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ। त्यागले कसैको कद सानो हुने होइन। त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन।’
देशमा गरिखाने वातावरण नभएको भन्दै चिन्ता व्यक्त
‘नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिइरहेको छ। जन्मदै नेपालीको शीरमा हजारौँ हजार होइन, लाखको ऋणभारको बोझ छ। हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धराशायी हुँदै छ। हुँदाहुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन्।’
२०६५ जेठ १५ गते शान्तिपूर्वक नारायणहिटीबाट नागार्जुन सारिएका पूर्वराजा ज्ञानेन्द्र शाहको अहिलेको पोर्टफोलियो जम्माजम्मी आमनागरिक हो । तर विभिन्न समयका अभिव्यक्ति, चाडपर्व वा दिवसहरुमा दिने शुभकामना सन्देशले शाह आफूलाई एउटा शक्ति केन्द्रको रुपमा देखाउन केन्द्रित हुनुहुन्छ । प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा पनि त्यसलाई देखाउन खोजिएको छ ।
ज्ञानेन्द्र शाहको शुभकामनामा मुख्यत तीन वटा सन्देश छन् ?
संवैधानिक राजतन्त्रको सम्भावित पुनरागमन
जनतासँग साथ दिन आग्रह गर्नु र आफ्नो भूमिका पुनः खोज्ने संकेत दिनु संवैधानिक राजतन्त्र फर्काउने प्रयासको रूपमा हेरिन सक्छ।
राजनीतिक व्यवस्थाप्रति असन्तुष्टिः
शाहले प्रजातान्त्रिक व्यवस्थाले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै परिवर्तनको आवश्यकता रहेको संकेत गर्नुभएको छ।
राष्ट्रवादको सन्देश
शाहले नेपाल र नेपाली पहिचान बचाउनुपर्ने भन्दै राष्ट्रवादी भावनालाई पुनः जागरुक गराउने प्रयास गर्नुभएको राप्रपाको बुझाइ छ ।
नेपालमा राजनीतिक व्यवस्थाप्रतिको वितृष्णा जगाउने अभिव्यक्ति र राष्ट्रवादको नारा अझै पनि खपत हुने विषय बनिरहेका छन । अहिले संसद्को सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार छ । सरकार बनेको ८ महिनामा पनि सरकारले नागरिकमा उत्साह र ऊर्जा भर्न सकेको छैन । त्यसैले अब राजसंस्था विकल्प हुने र आफू नेता हुने ज्ञानेन्द्रको मनसुवा देखिन्छ । तर यथार्थमा यो कुरा धेरै टाढा रहेको आँकलन गर्नेको संख्या ठूलो छ ।
राजतन्त्रलाई बोक्ने दल वा राजावादी नारा फलाक्ने केही समूह मुलुकमा नभएका होइनन् । तर २ सय ४० वर्ष लामो राजतन्त्र मुलुकका लागि हितकर नभएको निष्कर्षसहित २०६२–०६३ को जनआन्दोलनले गणतन्त्रको पादुर्भाव गराएको थियो र त्यसपछि पुनर्स्थापनाको कुनै गुञ्जायस नराखेर राजतन्त्र सदाका लागि बिदा गरिएको थियो ।
त्यसयता डेढ दशक लामो राजनीतिक यात्रामा कयौँ आरोह अवरोह भए पनि राजसंस्थाकै अभाव महसुस गरिएको छैन । राजसंस्था बोक्नुपर्छ भन्ने राप्रपा, राप्रपा नेपाल जस्ता दलहरुलाई मतदाताले रुचाएनन्, अर्थात संविधान संशोधन गर्नेगरी उनीहरुसँग मत छैन ।
नत उनीहरुसँग आन्दोलनका लागि जनमत नै देखिएको छ । यी दलबाट पार लाग्ने नदेख्नुभएका पूर्वराजा शाह भारतीय हिन्दूवादीसँग हारगुहार गर्दैहुनुहुन्छ । अहिले पनि नागरिक तहमा राजसंस्थाप्रति उत्साह देखिदैन । बरु कसैको उक्साहटमा लागेको भन्दै ठूला दलका नेताले पूर्वराजा शाहको आह्वानमा चिसो पानी खन्याइदिने गरेका छन् ।
यसबारेमा शंकर पोखरेलले लेख्नुभएको छ ‘राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिंदैछ । अब राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनुपर्छ,’
विगत १५ वर्षमा अधिकतम लोकतन्त्रको अभ्यास गरिसकेको मुलुक पुनः कुनै एउटा परिवारबाट शासित हुन तयार छैन ।
धर्म वा राष्ट्रवादको हतियार देखाएर फेरि मुलुकको नेतृत्व गर्छु भनेर राजनीतिक पासा खेल्न खोज्ने शाहको अभिव्यक्तिलाई धेरैले खास्टो भित्रको बिरालो म्याउँ गरेको रुपमा बुझेका छन ।
प्रतिक्रिया