राणा शासनको अत्याचारमा हाँसी हाँसी गोली खानेका नाममा शहीद सप्ताह

काठमाडौं : तिमी माफी माग र बाँच भन्यो भने अहिले को मर्न तयार होला ? २२ वर्षको कलिलो उमेरमा आफ्नो प्रेमिका वा श्रीमतीसँग रमाउन छाडेर देशको लागि जीवन बलिदान दिन को तम्सेला ? आफ्नो जीवनभन्दा माथि राष्ट्र र नागरिक हुन भन्ने सोचेर को चाँही हाँसी हाँसी मर्न तयार होला ? जो तयार हुन्छन् उही देशको शहीद कहलिन्छ । आज हामी देशको लागि हाँसी हाँसी जीवन अर्पण गर्ने तीनै चार शहीदको चर्चा गर्छौं ।
बिहीबारबाट शहीद सप्ताह शुरु भएको छ । जहानियाँ राणा शासनविरुद्ध विगुल फुकेका चार शहीदलाई हत्या गर्न शुरु गरेको दिन माघ १० गते शहीद सप्ताह शुरु हुन्छ । माघ १६ गते शहीद दिवस मनाइन्छ । गिरफ्तार भएको ८३ दिनपछि शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त माथेमासँगै गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिने घोषणा भयो । कैद र मृत्युदण्डको सजाय पाएकालाई १९९७ साल माघ ७ गते सिंहदरबारबाट भद्रगोल जेल चलान गरियो । माघ १० गते राति टेकुको पचलीमा शास्त्रीलाई रुखमा झुण्ड्याएर हत्या गरियो । त्यसको दुईदिनपछि सिफलमा धर्मभक्त माथेमालाई पनि रुखमा झुण्ड्याएर मारियो ।
अब बाँकी रहे, एउटै कालकोठरीमा एकज्यानजस्तै बसिरहेका दुई जना दशरथ चन्द र गंगालाल । आफ्ना दुई साथीहरुको हत्या भइसकेको थियो र उनीहरु पनि फाँसीमा झुण्डिने समय कुरिरहेका थिए । उनीहरुको मनमा डर थिएन, मुखमा भयको छायाँ थिएन । उनीहरु मृत्युलाई सहजै स्वीकार्न तयार थिए । अन्तिम भेटका लागि आएका आफन्तजन रुँदा २२ वर्षीय गंगालाल सम्झाउँदै भन्थे, ‘यो रुख पनि पुरानो र बुढो भएपछि आफैं ढल्छ । हाम्रो जीवन पनि यस्तै हो ।’
उनीहरु दुवैलाई मृत्युदण्ड दिन सिक्री र नेलसहित जेलबाहिर लगियो । विष्णुमती र भचाखुसिको दोभानमा पुर्या इएपछि राणा शासकहरुको मृत्युदण्ड दिने टोलीका नाइके नरशमशेरले गंगालाललाई फुस्ल्यायो, ‘माफी माग अझै समय बाँकी छ ।’ बाँसको खम्बामा बाँधिएका गंगालालले नर शमशेरलाई घृणाको आँखाले हेर्दै जवाफ दिए, ‘मैले माफी माग्नुपर्ने काम के गरेको छु ? बरु तिमीहरुले गरेको अत्याचारका लागि तैंले हामीसित माफी माग् !’
राणा शासकको प्रलोभनमा नपरेका श्रेष्ठले यसअघि नै जेलबाटै आफ्ना पिता भक्तलाल श्रेष्ठलाई चिठ्ठी लेखेर एउटा छोरा नेपाल आमाको निम्ति बलिदान दिन आग्रह गरेका थिए।
(“बा ! तपाईको आज्ञा पालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो, सक्तै सकिन, म सक्तिनँ । आज रातभर निन्द्रा परेन । बिर्से पनी हुने पाठ म घोकिरहेछु, सम्झिनुपर्ने पाठ चै मैले बिर्सनै आँटेछु । आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाईरहेका भोका अगणित भाइहरुको पहेला सुखसित डराएर आँखा चिम्लन आँटेछु । तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु । अन्तसंस्करणबाट आगो रुमलिएर आयो । के के असह्य भयो । अब म सहन असमर्थ छु जताततै कोलाहलको ज्वाला देख्छु, आफै सल्कन लागेको छ । मलाई त्यो निभाएर मर्न दिनोस् । तपाई मेरो पिता हुनुहुन्छ तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईको आज्ञाले म पछि हट्न सक्तिन । म तपाईको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्तिन । अब मेरो माया मारिदिनोस् । मेरो अरु भाईहरु छँदैछन् । एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गङ्गालालको निवेदन छ । अत्याचार र अन्यायको विरुद्द लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु । बालक पुत्र गङ्गालालको दण्डवत सेवा !”)
राणाशासन अन्त्य भएको दृश्य हेर्ने अन्तिम इच्छा राखेका दशरथ चन्दमाथि तिघ्रामा गोली हानेर तड्पाईयो अनि अन्तमा छातीमै गोली हानी मारियो ।
जहाँनिया राणा शासनको शोषण र अत्याचारले पीडित नेपालीलाई मानवीय हक दिलाउने, प्रजातन्त्रको परिपाटी बसाल्ने, प्रगतिविरोधी राणा सरकार ढलाउने र जनप्रतिनिधिहरूको सरकार बनाउने लक्ष्य लिएका चारै जना हाँसीहाँसी मर्न तयार भए । र त यिनै शहीदको सम्मानमा कवि भूपि शेरचनले अजम्बरी कविता रचे । कवितामा मुलुक बन्नका लागि दुई–चार सपुतले ज्यानको आहुती दिनुपर्ने आशय छ ।
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए …
प्रतिक्रिया