बिशेष

सांसदको बाझ्ने थलो बन्यो संसदीय समिति, संयम गुमाउँदै सांसद

हिमालय टिभी
२०८१ माघ ८ गते १९:५५
सांसदको बाझ्ने थलो बन्यो संसदीय समिति, संयम गुमाउँदै सांसद

काठमाडौं : सिंहदरबारको लेखा समितिको बैठक मंगलबार बस्यो । बैठकमा एमालेले सुरुमै सभापति ऋषिकेश पोखरेलको बचाउ गर्योो । अनि सुरु भयो माओवादीसँग वाकयुद्ध । त्यसपछि अन्यले धमाधम जबाफ-प्रतिजवाफ हाने। कुस्ती खेल्ने जस्तो आरोपदेखि सभापतिलाई पेलिएको गुनासोले बैठक विषयान्तर भयो ।
सत्तापक्ष र प्रतिपक्षको जुहारीमा कांग्रेसले भने टुलुटुलु हेरेर बस्यो । पछिल्लो समय संसदीय समितिमा हुने यस्ता कचहरीले सिंहदरबारका समिति र सांसदको मर्यादामाथि प्रश्न उब्जाएको छ । मिल्दा चाटाचाट र नमिल्दा काटाकाटको प्रवृत्ति समितिमा फेरि देखिएको छ ।
सिंहदरबारको एक कुनामा मंगलबार लेखा समितिको बैठक चल्दै थियो। त्यसैमा सुरु भयो खल्बल – न एमालेका तारा लामा तामाङ रोकिनुभयो । न माओवादीका लेखनाथ दाहाल। कुरो त के भने, लामा तामाङले केही टिप्पणी गर्दा दाहालले के राम्रो हुँदैन भनेको? भनेर प्रतिवाद गर्नुभयो। अनि त सुरु भयो सांसदहरूको वाकयुद्ध!

लामाले गुनासो गर्नुभयो, सभापतिलाई पेल्ने काम भइसक्यो, अब बोले राम्रो हुँदैन। बस, यो कुरा दाहाललाई पटक्कै मन परेन। के राम्रो हुँदैन? कुस्ती खेल्न भनेको हो? भन्दै दाहालले जवाफ फर्काउनुभयो। उहाँलाई त झन् यो कुरा रेकर्डबाट हटाउनै पर्ने लाग्यो।
तर, लामाको प्रतिक्रिया झन् कडा! “किन हटाउने? आफैंले अनेक काम गरेर आउने अनि यहाँ आएर रुवाबासी गर्ने?” भन्दै तामाङले आफ्नो अडान बलियो बनाउनुभयो। अनि एमालेका योगेश भट्टराई पनि दुई जनाबीचको विवादमा पस्नुभयो । “के असंसदीय भयो र?” भनेर भट्टराईले लामा तामाङको कुरा समर्थन गर्नुभयो ।

त्यसपछि के चाहियो र ! माओवादीका अमनलाल मोदी पनि मैदानमा उत्रिए। “सत्ताको भन्दैमा धम्की दिने? संसद् यस्तो त होइन नि!” भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

माओवादीका जनार्दन शर्माले प्रतिपक्षीलाई सभापति दिनुपर्ने आवाज उठाउनुभयो। तर, भट्टराईले २०७३ सालको पुरानो उदाहरण निकाल्नुभयो। “त्यो बेला त मन्त्री भएपछि मात्र समिति सभापति छाडिएको थियो,” भन्दै उहाँले पुरानो ‘ट्र्याक रेकर्ड’ सम्झाइदिनुभयो। “नियमावली बदल्नुछ भने स्पष्ट पारौँ, हिजो आफै तोड्ने अनि आज नैतिकताको कुरा गर्ने?” भन्दै कांग्रेसलाई पनि गुनासो सुनाउनुभयो।

बैठक कि वाकयुद्ध ?

धितोपत्र बोर्डको अध्यक्षलाई बोलाएर स्टक एक्सचेन्जको विषय उठाउने चर्चा त परै जाओस्, बैठकमा सभापतिले गहिरो बहसको चाहना राख्दा सांसदहरू भने चर्काचर्कीमै सीमित भए। यो क्रम सिंहदरबारका अन्य समितिहरूसँग मेल खाएको देखियो।
केही साताअघि अन्तर्राष्ट्रिय समितिमा सभापति राजकिशोर यादव र सांसद प्रेम सुवालको भनाभनले हल तातेको थियो। मंगलबार लेखा समितिमा एमाले र माओवादीको जुहारी। कांग्रेस भने यसमा आफ्नै आरामदायी आसनमा रमाइरहेको छ।

लेखा समितिको बैठक त पारित भयो होला, तर संसद् भने झन् ‘कचहरी’ जस्तै देखिन थालेको छ। सांसदहरूले तर्कभन्दा चर्को स्वरलाई प्राथमिकता दिन थालेपछि मुलुकलाई चाहिने गम्भीर नीतिगत बहस पृष्ठभूमिमा धकेलिएको छ।
कुरा एउटा सानो अब बोले राम्रो हुँदैनबाट सुरु भयो, तर सिंहदरबारको मञ्चले सांसदहरूको वाकयुद्धलाई अर्को स्तरमा पुर्यायो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *