बिशेष

अब सोच, श्रम र समय योगदानको सम्मानमा ४० प्रतिशतसम्म ‘स्वेट सेयर’

२०८१ पुष २८ गते २०:१८
अब सोच, श्रम र समय योगदानको सम्मानमा ४० प्रतिशतसम्म ‘स्वेट सेयर’

काठमाडौं : नेपालमा अब सोच, श्रम र समयको योगदानलाई सम्मान गर्न सरकारले स्वेट सेयर दिने कानूनी व्यवस्था गरेको छ। अब स्टार्टअप कम्पनीहरूले ४० प्रतिशतसम्म र अन्य उद्योगहरूले २० प्रतिशतसम्म सेयर श्रमिक वा साझेदारलाई दिन सक्नेछन्।

यसअघि यो व्यवस्था नभएकाले कम्पनीहरूले नविन सोच राख्ने साझेदारलाई सेयर दिन पाउँदैनथे। सरकारले यो प्रावधान ल्याएर स्टार्टअपलाई बलियो बनाउन, कर्पोरेट संस्कृतिलाई सुधार गर्न र श्रमशक्तिलाई उत्साहित गर्न ठोस कदम चालेको छ। सोच र श्रमको मूल्यांकनबाट सेयर पाउने यो नयाँ व्यवस्थाले व्यवसायिक वातावरणलाई धेरै सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

स्वेट सेयर (Sweat Equity Share) भन्नाले कुनै व्यक्तिको सोच, श्रम, अनुभव, र समयलाई मूल्याङ्कन गरी त्यसको आधारमा कम्पनीमा साझेदार बनाउने व्यवस्था हो। यसमा व्यक्तिले लगानी नगरी आफ्नो योग्दानबाट कम्पनीको स्वामित्व पाउने अधिकार पाउँछ। नेपालमा यसअघि स्वेट सेयरको कुनै कानूनी प्रावधान थिएन। कम्पनीले सेयर दिने अवस्थामा केवल सम्पत्ति वा नगद लगानीकै आधारमा मात्रै दिन सक्थ्यो। नविन सोच, श्रम, र गुडवील जस्ता अमूर्त सम्पत्तिहरूको मूल्याङ्कनको सम्भावना थिएन। यसले विशेषगरी स्टार्टअप कम्पनी र श्रममुखी उद्यमलाई समस्या परेको थियो।

उदाहरणका लागि, गोर्खा मिडिया प्रकरणमा रवि लामिछानेले १५ प्रतिशत स्वेट सेयर लिएको विषय विवादित बन्यो। संसद्को छानबिन समितिले नेपालको कानूनी प्रावधानमा स्वेट सेयरलाई मान्यता नभएको निष्कर्ष निकालेपछि यसले स्टार्टअपहरूमा अस्थिरता र अन्योलता सिर्जना गर्यो । त्यसै कारण सरकारले अध्यादेश मार्फत कम्पनी ऐन २०६३ मा संशोधन प्रस्ताव गरेको छ, जसले स्वेट सेयरलाई वैधानिक मान्यता दिन्छ।

(स्टार्टअप कम्पनीहरूलाई ४० प्रतिशतसम्म स्वेट सेयर दिन सकिने व्यवस्था गरिएको छ । यो भनेको सोच, श्रम, समय, र नविन योगदानका आधारमा स्टार्टअप कम्पनीले आफ्ना साझेदार वा कर्मचारीलाई सेयर दिन पाउनेछ। सामान्य उद्योगलाई २०प्रतिशतसम्म स्वेट सेयरको व्यवस्था दिने सकिने व्यवस्था गरिएको छ । यो भनेको अन्य उद्योगले श्रम र गुडवीलको मूल्याङ्कन गरी सीमित प्रतिशत सेयर दिन पाउनेछन्। यस्तै पारिश्रमिकको साटो सेयर दिने प्रावधान पनि गरिएको छ । कर्मचारीलाई तलब वा सेवा सुविधाको साटो स्वेट सेयर दिन सकिने प्रावधानले श्रमशक्तिलाई थप उत्साहित गर्ने अपेक्षा गरिएको छ ।

विशेष गरेर स्टार्टअप कम्पनीहरुले नविन सोच र श्रम लगानी गर्ने साझेदार वा कर्मचारीलाई सेयर दिन नसकिएको भन्दै सरकारसँग गुनासो गर्दै आएका थिए । सोच र श्रमका आधारमा मात्र होइन कर्मचारीलाई दिइने पारिश्रमिक वा अन्य सेवा सुविधाको साटो शेयरम हक प्रदान गर्ने व्यवस्था समेत सरकारले गरेको छ। यसले लगानीकर्ता र श्रमिक दुबैलाई सहजता प्रदान गर्ने देखिन्छ । सरकारले ढिलै भएपनि यो व्यवस्था गरेर कर्पोरेट संस्कृतिमा नयाँ आयाम थप्ने काम गरेको विश्लेषण छ ।

(स्वेट सेयरको प्रावधानले विदेशी लगानीकर्तालाई नेपालमा स्टार्टअप लगानीका लागि आकर्षित गर्न सहयोग पुर्यावउनेछ। तर यसको चुनौती उत्तिकै छ । सोच, श्रम, र गुडवीलको निष्पक्ष मूल्याङ्कन गर्न कठिन हुनसक्छ। कानूनी स्पष्टता र पारदर्शिताको अभावले स्वेट सेयरको दुरुपयोग हुनसक्ने जोखिम रहन्छ। दीर्घकालीन प्रभावलाई सुनिश्चित गर्न, यो प्रावधानलाई निरन्तर समीक्षा गर्दै अद्यावधिक गर्नुपर्ने आवश्यकता छ।

सरकारले ढिलै भए पनि स्वेट सेयर जस्तो नवीनतम प्रावधानमार्फत उद्यमशीलता र नवप्रवर्तनलाई सम्मान गरेको छ। यो कदमले नेपालको स्टार्टअप वातावरणलाई विश्वव्यापी मान्यता र प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। यद्यपि, यसका सफल कार्यान्वयनका लागि स्पष्ट कानूनी ढाँचा, पारदर्शिता, र निगरानी प्रणालीको आवश्यकता रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *