बिशेष

प्रचण्ड-माधवको ४२ सिटे मोर्चा, सत्ता हत्याउने बार्गेनिङ कि धारेहात लगाउने हतियार ?

हिमालय टिभी
२०८१ पुष २७ गते १९:५३
प्रचण्ड-माधवको ४२ सिटे मोर्चा, सत्ता हत्याउने बार्गेनिङ कि धारेहात लगाउने हतियार ?

काठमाडौं : आफु कमजोर भएपछि त्यसलाई ढाकछोप गरि राजनीतिक जादुको छडी आफ्नै हातमा रहेको देखाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही न केही गरिरहनुहुन्छ ।

सत्तामा टिक्नकै लागि छोटो समयमै सहयात्री फेर्नेदेखि सत्ता बाहिर पुगेपछि उनीहरुलाई नै सत्तोसराप गर्ने प्रवृत्ति उहाँको मुख्य विशेषता जस्तै बनेको छ । अनि राजनीतिक स्वार्थका लागि पार्टीभित्रै नेता जुधाउने खुबी भएका प्रचण्डले निस्क्रिय जस्तै बनेको समाजवादी मोर्चाको बाँसुरी फेरि बजाउन थाल्नुभएको छ । सत्ता गुमाउँदाको पीडा र ठूला दुई दलको बेवास्ताबीच आफ्नो प्रभाव देखाउने मेसोका रुपमा प्रचण्डले फेरि मोर्चाको नाममा राजनीतिक यात्रा थाल्न लाग्नुभएको हो ।

समाजवादबारे अस्पष्ट रहेका नेताहरु नेपालमा समाजवादी व्यवस्था ल्याउनेभन्दै २०८० असार ४ गते गाेलबद्ध बने । तर, त्याे फगत राजनीतिक स्वार्थका लागिमात्र थियाे भन्ने अहिले पुष्टि भइसकेको छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी नेकपा मिलेर समाजवादी माेर्चा घाेषणा भएको थियो । त्यसबेला नेकपा एमालेलाई पनि समावेश गर्ने प्रचण्ड रणनीति असफल भएसँगै मोर्चाका नाममा हरेक ६ / ६ महिनामा संयोजक फेर्ने गरिएकाे थियो ।
तर गतवर्ष बैशाख २३ गते प्रचण्डको सत्ता टिकाउनकै लागि मोर्चामा आवद्व जनता समाजवादी पार्टी जसपा नै विभाजनमा परेसँगै न उपेन्द्र यादव मोर्चामा रहनुभयो न त अशोक राईको नयाँ दल नै । अनि प्रचण्डको जादुको चक्कर बुझेका कांग्रेस एमालेबीच असार १७ मा ७ बुँदे समझदारीसँगै नयाँ सत्ता समीकरण बन्यो । र प्रचण्ड सत्ताबाट नराम्रोसँग चिप्लनुमात्रै भएन, संसदको यो कार्यकालमा उहाँ र उहाँको दल सत्तामा पुग्ने बाटो पनि लगभग बन्द जस्तै भयो ।

अनि प्रचण्ड फेरि मोर्चाको बाँसुरी बजाउने रणनीतिमा । कांग्रेस र एमालेलाई खेलाउने र आफु सत्ताको नेतृत्व गरिरहने बानी परेका प्रचण्ड फेरि नयाँ रणनीतिसहित मोर्चा ब्युँत्याउने खेलमा लाग्नुभएको छ । बुधबार र बिहीबार लगातार एकीकृत समाजवादीसँग छलफल गर्नुभएका प्रचण्डले बजाएको समाजवादी मोर्चाको बाँसुरीमा माधव नेपाल पनि छमछमी नाच्दैहुनुहुन्छ । र त माघ २ गतेका लागि बैठक नै डाकिएको छ ।

गत फागुन ६ गते नेकपा महासचिव नेत्रविक्रम चन्द अर्थात् विप्लव सी ६ महिने संयोजक भएसँगै मोर्चा केही सक्रिय जस्तो देखिएको थियो । अनि भविष्यमा एकतासम्मको रणनीतिक बहस पनि फैलिएकै थियो । तर राजनीतिक अंकगणितको दौडमा प्रचण्ड र माधव नेपालहरु लागेसँगै मोर्चा सत्ताको भर्याङका लागि खुड्किलो मात्रै बन्यो । बेला बेला मोर्चाका नाममा बजिरहेको बाजा कार्यकर्ताको कान पाक्ने कर्कस बाहेकको उपलब्धि देखिएको छैन ।

तत्कालीन समयमा सत्ता समीकरण उल्टिने हल्लाहरुका बीच संसदमा आफ्नो शक्ति प्रदर्शन गर्न प्रचण्डले अपनाएको यो रणनीति त्यसबेलाको प्रमुख सत्ता साझेदार कांग्रेसलाई घुर्क्याउने र एमालेलाई देखाउने प्रयोजनमा बढी केन्द्रित थियो । १५ बुँदे उद्देश्य राखेर सार्वजनिक गरिएको मोर्चाको सहमति पत्रमा खास महत्वाकांक्षा नभए पनि समाजवाद र समृद्धिको रटान राम्रैसँग लगाइएको थियो । तर पछिल्लो पटक सत्ता गठबन्धनमा आएको फेरबदल र प्रमुख कम्युनिष्ट दल एमालेको अनिच्छाका कारण मोर्चाको औचित्यमै प्रश्न उठिरहेको छ । अनि फेरि सत्ताबाट पछारिएकाहरु सत्तारुढ कांग्रेस-एमालेलाई खेलाउने मनासयका साथ मोर्चा मोर्चा भन्न थालेका छन् ।

चरम बेरोजगारी र नागरिकको निराशामा मल्हम लगाउनुपर्ने मोर्चाआवद्ध दलहरु सत्तारोहणकै लागि बार्गेनिङ गेयर बनाउनेगरी लागिरहँदा फेरि पनि यो मोर्चाको औचित्यमाथि प्रश्न उठ्ने नै छ । प्रचण्डको चाहना र माधव नेपालको सहमतिमा विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादवको नेसपासहभागि मोर्चा आपसी किचलोमै रुमलिने निश्चित छ ।

यस्तो अवस्थाको मोर्चाको नाममा खडा हुने मञ्चबाट ओली र देउवामाथि धारेहात कुण्ठा र विस्मात मिश्र्रित भाषणमार्फत् धारेहात लगाउने योजना बाहेक अरु केही देखिदैन ।
न त समाजवादको बाटोमा हिड्ने उपाय मोर्चाले देखाउँछ न त वितृष्णामा बसेका जनताका लागि आशाकै किरण । मोर्चा बन्छ त केवल फेरि पनि सत्ता बार्गेनिङको गणित । ४२ सांसदसहितको मोर्चा फेरि पनि प्रचण्डको जादुयी नम्बर नबनोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *