ती वामपन्थी जो दरबारका विश्वासपात्र बने
काठमाडौं : नेकपा एमालेले पार्टीबाट निष्कासित गरेसँगै नेता भीमबहादुर रावल अहिले देश दौडाहमा हुनुहुन्छ । केही दिनअघि पत्रकार सम्मेलन गरेका रावल राष्ट्रवादी शक्ति निर्माणको अभियानमा हुनुहुन्छ ।
राष्ट्रवादी शक्ति निर्माणको अभियानमा रहेका रावलसँग विभिन्न ठाउँमा राजावादी शक्तिमा आबद्ध नेताहरुसमेत जोडिएका छन् । पूर्वमा पुग्दा त दुर्गा प्रसाईंको अभियानमा संलग्न भएकाहरुसमेत रावललाई स्वागत गर्न आइपुगेका छन् । यसले रावल राष्ट्रवादी शक्तिको नाममा राजावादी बन्न लागेको टिप्पणी गर्न थालिएको छ ।
आफूलाई कट्टर राष्ट्रवादीका रुपमा चिनाउँदै भीम रावल अहिले शक्ति निर्माणमा जुट्नुभएको छ । एमालेबाट निस्काशित भएपछि पुस १७ गते पत्रकार सम्मेलन गरी एमाले र खासगरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कयौँ लाञ्छना लगाएका रावल अब आफैँ नयाँ राष्ट्रवादी शक्ति निर्माणको अभियानमा जुट्नुभएको हो । विगत केही वर्ष यता नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफूलाई राष्ट्रवादी शक्ति दाबी गर्दै आएको छ । हुन पनि यहाँका प्रमुख दलहरु कसैले आफूलाई लोकतन्त्रवादी, कसैले साम्यवादी, कसैले समाजवादी, कसै–कसैले नयाँ शक्ति भनिरहँदा राष्ट्रवादी शक्तिको लेबल लगाएर राप्रपाले आफूलाई ब्राण्डिङ गरिरहेको छ ।
तर संयोग कस्तो भएको छ भने नयाँ राष्ट्रवादी शक्तिका रुपमा रावलले अभियान सुरु गर्दैगर्दा केही कार्यक्रममा राप्रपा निकट नेता कार्यकर्ता पनि सहभागी भएका छन् । कुनै समय राजा फर्काउने अभियान चलाएका दुर्गा प्रसाईंका कार्यकर्तासमेत रावलको कार्यक्रममा पुगेका छन् । यसले रावल राष्ट्रवादी शक्तिका नाममा अभियान सुरु गरेर अन्ततः दरबार प्रवेशको बाटो खन्दै त हुनुहुन्न ? भन्ने प्रश्न उब्जाएको छ । रावल आफै भने यी चर्चा र टिप्पणी खारेज गर्नुहुन्छ ।
कम्युनिष्ट हुनु र राजावादी हुनु लगभग असम्भव जस्तै रहने धेरैको बुझाइ छ । मुलतः कम्युनिष्ट नेता कार्यकर्ताहरु यस्तो सम्भावनाको कल्पना गर्न पनि हुन्न भन्छन् । तर घटनाक्रमले त्यस्तो देखाउँदैनन् । नेपालमा केही यस्ता कम्युनिष्ट व्यक्तिहरु थिए जसले अन्ततः कम्युनिष्ट नामको बर्को ढोकामा खोलेर आफूलाई दरबार प्रवेश गराएका छन् ।
हेरौँ केही पात्र
केशरजंग रायमाझी
कोलकतामा अध्ययनका क्रममा भारतीय कम्युनिष्ट पार्टीसँग निकट भएका केशरजंग रायममाझी सन् १९४७ मा कोलकतामै स्थापना भएको ‘मार्क्सिस्ट स्टडी सर्कल’ को संस्थापक सदस्य हुनुभयो । त्यहाँबाट औपचारिकरुपमा सुरु भएको उहाँको कम्युनिष्ट यात्रा पार्टीभित्र तत्कालीन महासचिव मनमोहन अधिकारीदेखि पुष्पलाल श्रेष्ठसम्मको टकरावका कारण बीचमै मोडियो । पार्टीमा सुरु भएको विग्रहपछि आफै महासचिव बनेका रायमाझी २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गर्दा त्यसको समर्थन गरेर पञ्चायत पक्षधर हुनुभयो । उहाँ राजाकै तर्फबाट मन्त्रीसमेत बन्नुभयो भने पछि राजसभा स्थायी समिति सभापतिसमेत बन्नुभयो ।
आरके मैनाली
कुनै समय एमालेका प्रभावशाली नेता हुनुहुन्छ आरके अर्थात् राधाकृष्ण मैनाली । २०२५ सालदेखि विद्यार्थी राजनीति र २०२८ सालको झापा विद्रोहसमेतमा शीर्ष स्थानमा नाम आउने मैनाली नेकपा एमालेमै रहँदा सरकारको मन्त्री बनिसक्नुभएको थियो । २०४६ सालमा वाम मोर्चाको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएर राजासँग वार्ता गरेका मैनीली २०५४ सालमा एमाले फुटेपछि मालेमा लाग्नुभयो । पार्टी एकतासँगै २०५८ सालमा एमाले फर्किए पनि २०५९ मा निस्काशित भएपछि उहाँ राजावादी बन्नुभयो । दरबार छिरेपछि मैनाली २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सरकारमा मन्त्री बन्नुभयो ।
देवी ओझा
कुनै समय कम्युनिष्ट आन्दोलनको अगुवाई गरेका देवी प्रसाद ओझा राजनीतिको उत्तरार्ध हुनै लाग्दा राजावादी बन्नुभयो । वामपन्थी आन्दोलन, माक्र्सवादको प्रचारदेखि शिक्षक आन्दोलनसम्म गरेका ओझा २०५४ सालमा एमाले विभाजन हुँदा मालेमा लाग्नुभएको थियो । तर एमाले–माले पुनः एक भएपछि उहाँले एमाले नै बन्नुभयो । २०६१ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई अपदस्थ गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार गठन गर्नुभयो । ओझा त्यही सरकारको शिक्षामन्त्री हुँदै दरबार पस्नुभयो । ओझापछि राष्ट्रिय लोकतन्त्रिक मञ्च खोलेर राजनीतिमा सक्रिय हुन खोजे पनि मुलधारमा निस्किन सक्नुभएन ।
कमल चौलागाईं
लामो समय वामपन्थी राजनीति गरेका कमल चौलागाईं मुलुक संक्रमणकालमा रहेका बेला राजवादी हुनुभयो । संयुक्त जनमोर्चा हुँदै एमाले र मालेसम्म भएका चौलागाईं समकालीन राजनीतिका चल्तापूर्जा कम्युनिष्ट नेता हुनुहुन्थ्यो । २०६१ असोज १८ मा राजाको कदमपछि उहाँ पनि दरबार छिर्नुभयो । चौलागाईं लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारका श्रम तथा यातायातमन्त्री बन्नुभयो । गणतन्त्र स्थापनासँगै उहाँ माओवादीमा प्रवेश गर्नुभयो । माओवादी र एमालेबीचको एकतामा केन्द्रीय सदस्य बनेका उहाँ अहिले फेरि एमालेमा हुनुहुन्छ ।
त्यसो त आफूलाई जन्मजातै वामपन्थी भन्ने वा माक्र्सवादलाई धर्मशास्त्र बनाएका कयौँ नेताहरु विभिन्न कालखण्डमा दरबार छिरेर आफ्नो झोला भरेका छन् । अहिले भीम रावलको चर्चा चलिरहँदा लोकतन्त्रअघि जस्तो दरबार छैन । तर ढलेको दरबारलाई टेको दिन राप्रपा, राप्रपा नेपाललगायतका पार्टी र केही समूहहरु लागिरहेकै छन् । यस्तोमा एमालेबाट निस्काशित भएका रावल पनि राजावादीको संगतमा देखिएपछि कतै उहाँले राष्ट्रवादी नाराको आडमा दरबारको बाटो खन्न थाल्नु भएको हो कि भन्ने आशंका गर्न थालिएको छ ।
प्रतिक्रिया