विद्या भण्डारी र नन्दबहादुर पुन एकैपटक राजनीतिमा !
काठमाडौं : सँगसँगै राष्ट्रपति र उपराष्ट्रपति पद सम्हालेर दुई कार्यकाल पूरा गरेका विद्यादेवी भण्डारी र नन्दबहादुर पुनः झण्डै उस्तै समयमा राजनीतिमा सक्रिय देखिएका छन् ।
पूर्वउपराष्ट्रपति पुन बिहीबार माओवादीको स्थायी कमिटी बैठकमा वरिष्ठ नेताका रुपमा सहभागी भइरहँदा पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा हुनुहुन्थ्यो ।
ओली–भण्डारी छलफल प्रधानमन्त्री र पूर्वराष्ट्रपतिका रुपमा सामान्य शिष्टाचार मात्र थिएन । भण्डारीसँगको साढे २ घण्टाको छलफल राजनीतिक पुनरागमनको वरिपरि केन्द्रित थियो ।
नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिलाई तटस्थताको प्रतीकका रूपमा परिकल्पना गरेको छ । तसर्थ, यी पदमा रहेकाहरू दलगत राजनीतिबाट स्थायी रुपमा अलग रहने अपेक्षा गरिन्छ ।
तर, विद्यादेवी भण्डारी र नन्दबहादुर पुन दुवैको गतिविधिले यो तटस्थता र गरिमाको मान्यतालाई चुनौती दिएको छ । यी दुवैले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गरेपछि दलगत राजनीतिमा फर्किन खोज्नुले राजनीतिक उद्देश्यमाथिको आशंका मात्र होइन नैतिकताको प्रश्नसमेत उठेको छ ।
ओली–भण्डारी भेटको अर्थ
राष्ट्रपति पदबाट अवकास लिएको झण्डै एक वर्ष भण्डारी लगभग तटस्थ हुनुहुन्थ्यो । तर एमालेभित्र बढ्दो आपसी असमझदारीपछि उहाँ विस्तारै राजनीतिक गतिविधिमा देखिन थाल्नुभएको छ । पछिल्लो समय उहाँका अभिव्यक्तिले जतिबेला पनि पार्टीको सदस्यता लिन तयार रहेको बुझ्न सकिन्छ । त्यसमाथि बिहीबार एमाले अध्यक्ष ओलीसँगको भेटले राजनीतिक परिदृश्यलाई नयाँ मोड दिएको छ । ओली र भण्डारीबीचको झण्डै साढे दुई घण्टाको वार्ता सामान्य शिष्टाचार मात्र नभएर राजनीतिक सन्देश दिन खोजिएको प्रयास हो ।
ओलीले पार्टीभित्र गुटगत बेमेल बढेको महसुस गर्नु थाल्नुभएको छ, जसको छनक उहाँका पछिल्ला अभिव्यक्तिमै सुन्न पाइन्छ । पार्टीभित्र महासचिव शंकर पोखरेलको गतविधिलाई नरुचाउने र आफूलाई डिलमा पारिएको महसुस गरेका नेताहरु पूर्वराष्ट्रपति भण्डारीलाई सहायक शक्तिका रूपमा अगाडि ल्याउन चाहन्छन् । भण्डारीले पनि राष्ट्रपति पदपछि राजनीतिक पुनरागमनको इच्छा देखाउनुभएको छ । केही समय अघिसम्म ओली स्वयंले नै भण्डारीलाई राजनीतिमा रोक्न चाहनुहुन्थ्यो । तर रोकिने छाँटकाँट नेदिएपछि ओली आफै स्वागतका लागि पुगेको टिप्पणी कतिपयले गर्न थालेका छन् ।
नन्दबहादुर पुन माओवादी बैठकमा
केही समयअघि एक सार्वजनिक मञ्चबाट सक्रिय राजनीतिमा आउने घोषणा गरेका नन्दबहादुर पुन बिहीबारको माओवादी स्थायी कमिटी बैठकमा सहभागी हुनुभयो । वरिष्ठ नेताका रुपमा बैठकमा सहभागी पुनलाई अध्यक्ष प्रचण्डले उपाध्यक्ष बनाउने तयारी गर्नुभएको छ । प्रचण्ड स्वयम् पुनलाई राजनीतिमा ल्याउन केही समययता सक्रिय भूमिकामा हुनुहुन्थ्यो ।
प्रचण्डको यो रणनीतिलाई माओवादीभित्र बढ्दो असन्तुष्टिको कोणबाट हेर्नुपर्छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनजस्ता नेताहरू प्रचण्डको कार्यशैलीप्रति असन्तुष्ट छन् । उनीहरुको असन्तुष्टिले प्रचण्ड सशंकित देखिनुहुन्छ । जसका कारण उहाँ पूर्वउपराष्ट्रपति पुनलाई ल्याएर आफ्नो शक्ति बढाउने दाउमा हुनुहुन्छ । त्यसो त उहाँ कुनै समय नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई समेत राम्रो जिम्मेवारी दिएर पार्टीमा भित्र्याउने रणनीतिमा पुग्नुभएको थियो । जुन प्रयास तत्काललाई स्थगित भएको देखिन्छ । मुलतः पछिल्लो समय बढेको माओवादी, कांग्रेस, एमाले लगायतका दलहरुप्रतिको वितृष्णा, त्यसमाथि पनि खुम्चिँदो माओवादी पार्टी, विगतका प्रभाव क्षेत्रहरुमा घट्दो साख जस्ता कारणले पनि प्रचण्ड पुनलाई भित्र्याए केही भ्वाङ पुर्न सकिन्छ कि भन्ने आशमा देखिनुहुन्छ ।
भण्डारी र पुनको पुनरागमन उस्तै समयमा हुनु संयोगमात्र होइन । एमाले र माओवादी दुवै दलले अहिले आन्तरिक रूपमा विभिन्न चुनौतीहरु सामना गरिरहेका छन् । ओलीले आफ्नो नेतृत्वमाथि चुलिँदो असन्तोषलाई सम्बोधन गर्न भण्डारीको लोकप्रियता उपयोग गर्न खोज्दा प्रचण्डले आलोचकहरुलाई सन्तुलनमा राख्न पुनलाई प्रयोग गर्न चाहेको देखिन्छ । तर, यी दुवै प्रयासले दलहरूको आन्तरिक सुदृढीकरणभन्दा विपरीत प्रभाव पार्न सक्छ । सबैभन्दा ठूलो चुनौती भण्डारी र पुन दुवैले नैतिकताको कसीमा रहेर पटकपटक परीक्षा दिनुपर्ने अवस्था बन्न सक्छ ।
प्रतिक्रिया