जनार्दन-विप्लवको निकटता- प्रचण्डलाई ‘थ्रेट’
काठमाडौं : तत्कालीन माओवादी लडाकु क्यान्टोनमेन्टको भ्रष्टाचारका विषय उठाएकै कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पेलानमा परेर पार्टी छाडेको करिब १२ वर्ष पछि विप्लव राजनीतिक दाउपेचमा हुनुहुन्छ ।
१२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने उखानझैं प्रचण्डको पेलानमा परिरहनुभएका जनार्दन शर्मा र तानातानमा परिरहनुभएको विप्लवबीचको नयाँ घुलनले माओवादीमा तरंग पैदा भएको छ ।
प्रचण्ड, जनार्दन र विप्लवबारे केही दृष्टान्त हेरौं ।
२०८१ पुष २ गते
नेकपाको नवौं केन्द्रीय कमिटीको छैठौं नियमित बैठकमा प्रचण्डकै कारण एकता टरेको विप्लवको निश्कर्ष ।
२०८१ असोज २९ गते
कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीस्थित महासचिव विप्लवको निवास भोकरमा जनार्दन शर्मा ।
२०८१ साउन २७ गते
जनार्दन शर्माद्वारा पार्टी नेतृत्व हस्तान्तरण प्रस्ताव ।
२०८० फागुन ०६ गते
समाजवादी मोर्चाको संयोजकमा विप्लव चयन ।
२०८० असार ७ गते
जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतबीच छलफल ।
२०८० असार ६ गते
विप्लव भित्र्याउने र महासचिव बनाउने प्रचण्ड योजना सार्वजनिक ।
२०८० असार ४ गते
समाजवादी मोर्चा घोषणा, विप्लव नेतृत्वको नेकपा पनि सहभागी ।
२०७९ भदौ २२ गते
जनार्दन शर्माबाट माओवादीको उपमहासचिव पद अस्वीकार ।
२०७९ भदौ ४ गते
माओवादीको महासचिवमा देव गुरुङ चयन ।
पछिल्ला यी घटना क्रम हेर्दा नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिवत्रय जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतबीच शक्ति संघर्ष जारी छ । र प्रचण्ड यी तीनलाई लडाएर नेतृत्वमा रहिरहन देव गुरुङको साहरा लिन पुग्नुभयाे ।
यति मात्रै होइन, नेतृत्व हस्तान्तरणका लागि प्रचण्डसँग एकल भिडिरहनुभएका उपमहासचिव जनार्दन शर्मालाई देखाउन बेला-बेला प्रचण्डले विप्लव कार्ड खेलिरहनुभएको छ । र यही बुझेका जनार्दन पनि नयाँ रणनीतिक चाल चालिरहनुभएको छ । कहिले पोखरा पुगेर वर्षमान र शक्ति बस्नेतसँग डुंगा सयर गर्ने त कहिले विप्लवसँग घण्टौं संवाद गर्ने ।
अरुलाई खेलाएर आफु राजनीतिक र रणनीतिक लाभ लिने प्रचण्ड योजना बुझेका विप्लवले २०८१ पुष २ गते नेकपाको नवौं केन्द्रीय कमिटीको छैठौं नियमित बैठकमा प्रचण्डकै कारण एकता टरेको निश्कर्ष सुनाइदिनुभयो । उक्त निष्कर्ष आउनुको पछाडीको कारण चाँही २०८१ असोज २९ गतेदेखि नै बनिरहेको थियो । अर्थात् कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीस्थित महासचिव विप्लवको निवास भोकरमा जनार्दन शर्माले त्यसदिन प्रचण्डको चाल र आफुहरुको सम्भावित बेहालबारे विप्लवसँग लामै कुराकानी गर्नुभएको थियो । अनि कहिले शर्मा त कहिले विप्लव, कहिले वर्षमान त कहिले शक्ति बस्नेतलाई प्रयोग गर्ने प्रचण्ड रणनीति बुझेकाहरुबीच पनि प्रचण्डलाई खेलाइदिने योजना बनेको देखिन्छ ।
माओवादीको महासचिव बनाउन खोजेको तर उपमहासचिव त्रय जनार्दन, वर्षमान र शक्ति बाधक भएको सन्देश पठाउनुभएका प्रचण्डलाई जवाफ दिने रणनीतिमा विप्लव लागिसक्नुभएको छ । एक अर्कासँग अधिक निकट रहेको सन्देश दिने रणनीतिमा विप्लव जनार्दन हुँदा प्रचण्डसामु नयाँ राजनीतिक प्रलयको संकेत पनि देखिएको छ ।
जनार्दन र विप्लव दुबैले एक अर्कासँग निकट सम्बन्ध देखाएर प्रचण्डलाई तह लगाउने योजना बनाइरहँदा माओवादीसँग एकता तत्काल असम्भव हुने निश्कर्षमा पुग्न नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बढी भूमिका खेलेको देखिन्छ । तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रतिवन्ध लगाएको अवस्थामा केपी शर्मा ओलीले तीन बुँदे सहमति मार्फत् खुल्ला राजनीतिमा ल्याएकाले बढी घुलन ओलीसँग हुनुपर्ने प्रकाण्डको तर्क विप्लवले काट्न सक्नुभएको छैन ।
अनि महासचिवको ललिपप देखाउने प्रचण्डको राजनीतिक लाभको साक्षी बस्नुभन्दा नयाँ ढंगले माओवादी एकता गर्नुपर्छ भन्ने मत बोकेका विप्लवले माओको जन्मदीनको अवसरमा एक कार्यक्रम गर्दै जनार्दनलाई आफुसँगै रहेको सन्देश दिनुभएको छ । बिहीबार एउटै मञ्च सेयर गरेका विप्लव-जनार्दनको भावि राजनीतिक सयर चाँही कस्तो हुने हो हेर्न बाँकी छ ।
प्रतिक्रिया