रास्वपाका पदाधिकारी- कार्यवाहक बढी
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अहिले कार्यवाहक पदाधिकारीहरूको भरमा चलिरहेको छ। सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा फसेपछि उपसभापति डीपी अर्याललाई फेरि कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ। पार्टीमा अहिले कार्यवाहक सभापति, कार्यवाहक महामन्त्री र कार्यवाहक प्रवक्ताको ट्रायो चलिरहेको छ ।
यो पहिलो पटक होइन, लामिछानेको नागरिकता प्रकरणदेखि मुकुल ढकालको निष्कासनसम्म, रास्वपा बारम्बार कार्यवाहक व्यवस्थाको अभ्यास गरिरहेको छ। यस्तो अवस्थामा, रास्वपा नेतृत्वको अस्थिरता र आन्तरिक विवादले जनताबीच पार्टीप्रति विश्वास कायम गर्न चुनौती थपिरहेको छ। पार्टीले न्यायिक प्रक्रियालाई साथ दिने भने पनि, यो सबैले रास्वपाको भविष्यलाई झन् अनिश्चित बनाइदिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय कार्यवाहक पदाधिकारीहरूको निरन्तर अभ्यासमा देखिएको छ। सोमबार उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णयसँगै पार्टीका तीन प्रमुख पदाधिकारीहरू कार्यवाहक भूमिकामा छन्।
कार्यवाहक सभापति डीपी अर्याल
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी
र कार्यवाहक प्रवक्ता मनिष झा
२०७९ माघमा नागरिकता प्रकरणमा दोषी ठहर भई सभापति रवि लामिछाने सांसद पदबाट पदमुक्त हुँदा पनि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो। त्यतिबेला संसदीय दलको नेताको भूमिका पनि अर्यालमाथि आयो। लामिछानेले पुन: चितवन–२ बाट उपनिर्वाचन जितेर फर्किएपछि अर्यालको कार्यवाहक भूमिका समाप्त भएको थियो।
पछिल्लो पटक लामिछाने सहकारी ठगी प्रकरणमा न्यायिक प्रक्रियामा सहभागी हुनुपरेपछि पुन: अर्याललाई जिम्मेवारी तोकिएको छ। सोमबार बसेको सचिवालय बैठकले सभापति लामिछानेकै प्रस्तावमा यो निर्णय गरेको हो।
पार्टी विधानअनुसार लामिछानेको अनुपस्थितिमा अर्यालले पार्टीको नेतृत्व लिनेछन्। विज्ञप्तिमा लामिछानेले आफ्नो अनुपस्थितिमा पार्टीलाई सशक्त रूपमा अघि बढाउने अपेक्षासहित शुभकामना व्यक्त गरेका छन्। संसदीय दलको नेता र सभापति लामिछाने आफैं हुनु हुन्थ्यो । सभापति कार्यबाहक तोकेपछि संसदीय दलको नेता पनि कार्यबाहकलाई दिनु पर्ने थियो ।
किनकी लामिछानेको सांसद पद निलम्बनमा परेको छ । तर तत्कालका लागि संसदीय दलको नेता भने लामिछाने नै भइरहने निश्चित छ । किनकी लामिछानेको सांसद पद निलम्बनको विरुद्ध रास्वपा अदालत जाने तयारी गरेको छ । यसरी हेर्दा सभापति देखि महामन्त्री सम्म कार्यबाहककै भरमा चलाउन थालेपछि रास्वपा पार्टी एकपछि अर्को कार्यवाहकको अभ्यासमा देखिएको छ । सामान्यतया कार्यबाहक पद कुनै पदमा बसेको व्यक्ति कुनै काम विशेषले कार्यालयमा उपस्थित हुन नसक्ने अवस्था भएमा छोटो समयमा लागि दोस्रो व्यक्तिलाई कार्यबाहक तोक्ने चलन छ ।
रास्वपाको संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टी हित विपरीतको गतिविधिमा संलग्न भएको आरोपमा कारबाही गरिएको थियो। त्यसपछि कार्यवाहक महामन्त्री र प्रवक्ता क्रमशः बुर्लाकोटी र झालाई तोकिएको हो। ढकालले पार्टीको कमजोर अवस्थाबारे प्रतिवेदन तयार गरेपछि लामिछानेसँग विवाद चुलिएको थियो। अनुशासन विरोधी गतिविधिको आरोपमा ढकाललाई निलम्बन गर्दै पार्टीले कार्यवाहक पदाधिकारीहरूलाई जिम्मेवारी सुम्पियो। तर कार्यबाहक पद स्थायी पद होइन । रास्वपाको महामन्त्री र प्रवक्ता जस्तो कार्यकारी पद महिनौं सम्म कार्यबाहककै भरमा चलाइरहेकोमा अब सभापति पद पनि लामिछानेको मुद्दाको अन्तिम फैसला नआउँदा सम्म नै कार्यबाहकले नै चलाउने संभावना बढी देखिएको छ ।
रास्वपामा नेतृत्वको अस्थिरता पार्टीका लागि चुनौतीपूर्ण बनेको छ। कार्यवाहक पदाधिकारीहरूको निरन्तर अभ्यासले नेतृत्वप्रति विश्वासको प्रश्न उठाएको छ। यद्यपि, पार्टीले न्यायिक प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउनु सकारात्मक पहल मान्न सकिन्छ। पार्टीको भविष्य लामिछानेको कानूनी मुद्दा र नेतृत्व स्थायित्वमा निर्भर देखिन्छ।
प्रतिक्रिया