बिशेष

ओली सरकार- संकटमै हो ?

हिमालय टिभी
२०८१ पुष ९ गते १९:५९
ओली सरकार- संकटमै हो ?

काठमाडौं : शक्ति राष्ट्र रुष्ट रहँदा र आन्तरिक राजनीति तरल बन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकटोन्मुख छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतबाट रित्तो हात फर्किएलगतै सोमबार साँझ हतास देखिनुभएका प्रधानमन्त्री ओलीले कांग्रेस–एमाले सम्मिलित दुई दलको संयन्त्र र कार्यदलको बैठक बोलाए।

सरकारको जग हल्लिएको लख काट्नुभएका प्रधानमन्त्री ओलीले कांग्रेसलाई विश्वासमा राख्ने प्रयास गर्नुभएको बुझिएको छ । त्यसका लागि कांग्रेस महामन्त्री गगन थापाले अब जनमुखी कार्यक्रम तत्काल ल्याएर डेलिभरी दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो । सोमबार साँझ बसेको दुई दलीय बैठकमा के भयो ?

सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली केही हतास देखिनुभएको थियो । प्रमुख सत्तारुढ कांग्रेस–एमाले संयन्त्रको बैठकमा भारतको पछिल्लो व्यवहारबाट आजित प्रधानमन्त्री ओलीले कांग्रेसको प्रतिवद्धता खोज्नु भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तर, कांग्रेसभित्रको किचलोले देउवा दबाबमा पर्न थाल्नुभएको छ । त्यही भएर प्रधानमन्त्री ओली देउवाको विश्वास खोजिरहनुभएको छ । कांग्रेसभित्र बढ्दो किचलोले सत्ता संकट आउन सक्ने चिन्ता प्रधानमन्त्री ओलीलाई छ । त्यो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास दिलाउने प्रयास गर्नुभएको बुझिएको छ ।

तर, देउवाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको भारत भ्रमणको तालिका मिलाउन भारत जान लागेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएको विषयमा चासो राख्नुभएको थियो । सल्लाह नगरी सार्वजनिक अभिव्यक्ति दिंदा थप समस्या भएको देउवाको चिन्ता थियो । परराष्ट्रमन्त्री निकट स्रोतका अनुसार उहाँको युरोप भ्रमण बाहेक भारतमा हुने एउटा कार्यक्रमलाई सम्बोधन गर्ने र स्वास्थ्य उपचार गर्ने कार्यतालिका रहेको थियो ।
भारत नै पुगिसक्दा केही भेटवार्ताको पहल नगरेको होइन, परराष्ट्रमन्त्री स्रोतले भन्यो ।

तर, भारतीय स्रोतले दिएको जानकारी अनुसार, मन्त्री राणाले विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिश्रीसँग भेटका लागि प्रयास गर्नुभएको थियो । ति भेटको प्रयास असफलमात्र भएन, नेपाल डेस्क हेर्ने भारतीय विदेशमन्त्रालयका अतिरिक्त सचिव मनु महावारले पनि भेटेनन् । मन्त्री राणाले रअ प्रमुख रवि सिन्हासँग भएपनि भेट्ने प्रयास गर्नुभएको थियो । त्यतिमात्र होइन, राखि बाँधेर भाइ बनाउनुभएकी उहाँलाई भारतीय जनता पार्टी विजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेदेखि माइती भन्ने गरेका विजेपी कोषाध्यक्ष राजेश अग्रवालसम्मले समय दिएनन् । भारतले चीनसँग बीआरआई परियोजनाको फ्रेमवर्कमा हस्ताक्षर गरेपछि रुष्ट रहेको सन्देश दिएको हो । यो घटनाक्रमले प्रधानमन्त्री ओलीको भारत भ्रमण अनिश्चित बनेको छ ।

त्यतिमात्र होइन, बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्दै, चीनले खडा गरेको दलाई लामाका उत्तराधिकारी पन्चेन लामालाई लुम्बिनी ल्याउन स्वीकार गरेबाट अमेरिका पनि रुष्ट छ । हुनत अन्तिममा पन्चेन लामाको नेपाल आगमन सरकारले रोकिदिएको थियो । त्यसबेला अमेरिकी विदेशमन्त्रालयका दक्षिण र मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्ड लू काठमाडौंमै आइपुग्नुभएको थियो । अमेरिकाले सिधा–सिधा भाषामै वर्तमान सरकारप्रति असन्तुष्टि राखेको थियो ।

उता, चीन पनि बीआरआई फ्रेमवर्कमा किचलो गरेकोभन्दै ओलीसँग रुष्ट छ । चीनले त ओलीको विकल्पमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उभ्याउन कसरत जारी राखेको छ । यसैले चौथर्फीरुपमा शक्ति केन्द्रको दबाबमा पर्नुभएका प्रधानमन्त्री ओलीले कांग्रेससँग थप प्रतिवद्धता खोज्नुभएको हो ।

त्यतिमात्र होइन, अहिले नागरिकमा बढ्दो असन्तुष्टिलाई क्यास गरेर अर्को शक्ति खडा गराउन सक्ने चलखेलप्रति पनि कांग्रेस–एमाले गम्भीर बनेको बुझिएको छ । दुईतिहाइ निकट कांग्रेस–एमाले संयुक्त सरकारले काम गर्न नसकेकोभन्दै विपक्षी दलहरुले लगातार गरेको प्रहार र कांग्रेसभित्रै पनि असन्तुष्टि देखिएका विषयमा पनि दुईदलले छलफल गरेका थिए । छिमेकी राष्ट्रको असहयोग पनि प्रधानमन्त्री ओलीको चिन्ताको विषय बनेको छ । सोमबार साँझको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले नागरिकले अनुभुत गर्नेगरी केही काम अघि बढाउनुपर्ने प्रस्ताव गर्नुभएको बुझिएको छ । थापाले बैठकमा कार्यक्रमबारे प्रस्तुती नै दिनुभएको थियो ।

गगन थापाले दिएको प्रस्तुतीका संक्षेप :
अल्पकालीन राहतका कार्यक्रम
मध्यकालीन योजना सञ्चालन
कर्मचारीका कामको गति बढाउने योजना
नागरिकमा डेलिभरी पुर्याउन गर्नुपर्ने काम
कानूनमा आवश्यक संशोधन
सरकारको कार्यशैलीमा

शक्ति राष्ट्रले वर्तमान सरकारप्रति देखाएको असन्तुष्टि र नागरिकमा देखिएको चरम निराशाले सरकार कमजोर हुँदै गएको निश्कर्षमा पुगेका सत्तारुढ दुई दलले नागरिकलाई विश्वासमा लिन नसके थप संकट उत्पन्न हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *